नवलपरासी । कोरोना संक्रमितहरुको सुविधायुक्त उपचारको लागि पश्चिम नवलपरासीमा एचडीयु केन्द्र सञ्चालनको तयारी थालिएको छ । प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन भइसकेको जनाउदै पृथ्वी चन्द्र अस्पताल परासीमा अक्सिजन सुविधा सहितको आईसोलेसन सेन्टर संञ्चालनका लागि स्थान व्यवस्थापन गर्न प्रदेश सरकारले आग्रह गरेको छ ।
सोहि अनुरुप शुक्रबार प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर बिनोद कुमार गिरि सहितको टोलीले अस्पतालको निरिक्षण गरेको थियो । गिरिले छिट्टै आवश्यक तयारी सक्न आग्रह गरेका छन् । केन्द्र निर्माणका लागि अस्पतालको पुरानो भवन प्रस्तावित गरिएको छ । स्वास्थ्य कार्यालयको पुरानो भवनका केहि कोठामा कार्यालय सारेर अस्पतालको पुरानो भवनमा एचडियु सेवा संञ्चालनमा ल्याइने छ ।
गतवर्ष नै पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमामा एचडीयू केन्द्र सञ्चालनका लागि जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले निर्णय गरे पनि आवश्यक पहल नहुँदा सञ्चालन हुन सकेको थिएन । एचडीयू सेवा नहुँदा संक्रमितहरुको उपचारमा समस्या आएको र मृत्यु दरसमेत बढ्न थालेको भन्दै प्रदेश सभा सदस्य बैजनाथ जयसवालले लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठको ध्यानआकर्षण गराएका थिए ।
सरोकारवाला पक्ष गम्भिर नहुँदा पश्चिम नवलपरासीमा कोरोना संक्रमितको ज्यान जाने अवस्था आएपछि आफूले मन्त्रीको ध्यानआर्कषण गराएको र तत्कालै सेवा सुचारु गर्न पहल सुरु गरेको जयसवालको भनाई छ । अस्पतालले केन्द्र निर्माणका लागि १ करोड ४६ लाख लाग्ने लागत स्टिमेटबारे प्रदेशलाई जानकारी गराएको थियो ।
प्रतिक्रिया