ताजा अपडेट »

चीनबाट पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याइँदै

शनिबार, २५ बैशाख २०७८

काठमाण्डाै । सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ । उपप्रधानमन्त्री तथा कोभिड-१९ संक्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा शुक्रबार बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याउन थालेको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

सिलिन्डर ल्याउनका लागि यही वैशाख २७ गते नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको हो । २० हजारमध्ये दुई हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइनेछ । नेपाल सरकारका अनुरोधमा चीन सरकारले निःशुल्क ती सिलिन्डर ल्याउन थालेको हो । नेपालमा अहिले अक्सिजन सिलिन्डर ६ हजार दुई सय ८८ रहेको र दैनिक एक हजार चार सय ११.५ लिटर खपत भइरहेको जनाइएको छ ।