बुटवल । ‘दिन हो कि रात हो २ दिन यता थाहा छैन्, अक्सिजन खोज्दाखोज्दै आफै थला पर्न लागेँ ’ यो भनाई हो लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालको । उनले फेसबुकमा समेत लेखेका छन्, -फेरी उही कुरा ! मध्यरातमा डा. नन्दु पाठक र डा. राजेन्द्र खनाल अक्सिजन खोज्न हिँडेपछि हालत के होला ? बिरामीहरूको अवस्थालाई टुलुटुलु हेरेर नर्स र डाक्टरले केही गर्न नसकिने यो कस्तो विवशता !अब त एकोहोरो टोलाउन मात्र बाँकी छ ...
यो अभिव्यक्ति कोरोना अस्पताल सञ्चालन गरिरहेको अस्पतालका मेसुले यस्तो भन्दा अक्सिजनको चरम अभाव रहेको पुष्ट्याउछ । उनले चिकित्सकले बिरामी हेर्नुपर्ने बेलामा अक्सिजनको लागि रातभर भौँतारिनु परेको बताए । उनले केहीदिनयता अस्पतालमा अक्सिजनको अभाव भईरहेको बताउँदै व्यवस्थापनमा भने कसैले ध्यान नदिदा रातभर समस्या हुने बताए । उनले भने -‘दिनभर यहाँबाट आउँछ, उताबाट आउँछ भन्ने आश्वासन पाउँछौँ । रातपरेपछि अक्सिजन हुँदैन बिरामी छटपटाउँछन्, धेरै पीडा महसुस हुन्छ ।’ मध्यरातमा उनले सामाजिक सञ्जाल फेसबुकमा व्यक्त गरेका समस्या र पीडाले लुम्बिनीमा स्वास्थ्य समस्याको ठूलो चूनौती देखिएको छ । यदि समयमा प्रयाप्त अक्सिजनको व्यवस्थापन नभएमा कोरोना संक्रमित धेरैको ज्यान जाने विकराल अवस्था आउ आउन सक्नेछ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा हिजो साँझको रेकर्ड अनुसार १ सय १३ जना कोरोना संक्रमित बिरामीहरूले उपचार गराइरहेका छन् । जसमध्य ५६ जना अत्यन्तै गम्भिर अवस्थामा रहेका छन् । उनीहरूलाई अक्सिजन अभाव भयो भने अवस्था झन गाह्रो हुने उनी बताउँछन् ।
बिरामीहरूको चाँप बढिरहँदा अक्सिजनको माग दैनिक ४ सयदेखि ४ सय १० सिलिन्डर भईरहेपनि ३ सय पनि नआउँदा समस्या भएको उनले बताए । बुटवलमा बनेको अक्सिजन बैङ्क, जिल्ला प्रशासन कार्यालयले पठाएका सिलिण्डरले पनि माग धान्न नसकिरहेको उनलेप्रतिक्रिया दिए । उनले भने -‘अक्सिजन भनेको पानीको धारामा पानी आएजस्तै गरि आउनु पर्छ, तर खाली भएका सिलिण्डर भरिएर आउँदैनन् यसले समस्या भयो।’
यता अस्पतालमा कोरोनाका बिरामीहरुको साथै अन्य बिरामीहरुपनि भएकोले अस्पतालको अक्सिजन प्लान्टले एनआईशियु, आइशियु लगायतका बिरामीलाई पुगेको उनले बताए । यसले केही सहज भएपनी कोरोना संक्रमितकै लागि अभाव भएको बताए । उनले खाली भएका सिलिण्डरलाई भरेर नियमित पठाउने वातावरणको सिर्जना गर्न प्रदेश सरकारले समन्वय गरिदिनुपर्ने बताए । उनले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्यमन्त्री भोज प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ लगायतलाई जानकारी र अपडेट गराईरहेको बताउँदै अक्सिजनको अभाव भईरहे उपचार गर्न संभव नभएको बताए ।
कृतिम अभाव हटाउँदै व्यवस्थापन गर्दैछौँ : स्वास्थ्य मन्त्रालय
यता लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले कोरोना अस्पतालहरुमा अक्सिजनको अभाव हुन नदिनको लागि प्रदेश सरकारले स्थानीय अक्सिीजन उत्पादन र आयातकर्तासंग छलफल सकिएको र व्यवस्थान हुने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा पुष्पराज पौडेलले लुम्बिनी प्रदेश भित्र रहेका अक्सिजन उद्योग र आयातकर्तालाई स्थानीय अस्पतालमै उत्पादीत र आयातित अक्सिजन प्रदान गर्नको लागि आग्रह गरिएको र उनीहरु सकारात्मक रहेकोले केही दिनभित्रै अभाव हट्ने बताए । उनले भने -‘अक्सिजनको यतिधेरै उत्पादन हुन्छ भन्नेथिएन, हामी पूर्वतयारीमा पनि भएनौ, यसले गर्दा गाह्रो भयो, हामी समन्वय गरिरहेका छौँ । ’उनले अस्पतालमा भएका अक्सिजन प्लान्टहरुलाई ममर्त गर्नको लागि अस्पतालहरुलाई आग्रह गरिरहेको बताउँछन् ।उनले घरघरमा सिलिण्डर राख्दा कृतिृम अभाव भएको बताउँदै यो हटाउन आवश्यक रहेको बताए ।
हाम्रा उद्योग बन्द गरेर सिलिन्डर दियौँ : उद्योगी
रुपन्देहीका उद्योगीहरुले आफ्ना उद्योग बन्द गरेर आफुहरुसंग भएका अक्सिजन सिलिन्डर स्थानीय प्रशासनलाई बझाएको बताएका छन् । रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले रुपन्देहीका उद्योगी जसले अक्सिजन प्रयोग गर्दथे सबै प्रशासनलाई बुझाएको बताए । उनले आफुहरुले उद्योग बन्द गरेर सिलिन्डर दिएपनि भर्ने वातावरणका लागि केन्द्र र प्रदेश सरकारले समन्वय गरिदिनुपर्ने उनले बताए । उनले कृतिृम अभाव भइहेको भए त्यसलाई खोज्नको लागि प्रशासनलाई आग्रह गरे । रुपन्देहीमा करिब ७ सय उद्योगहरुमा रहेका अक्सिजन सिलिण्डर बुझाईएको उद्योग संघले जनाएको छ ।
प्रतिक्रिया