ताजा अपडेट »

पटक–पटक ठगिएका हामी नेपाली…

विहीबार, २३ बैशाख २०७८

हामी सानोमा स्कुल पढ्दा देशमा पञ्चायती शासन व्यवस्था थियो । पञ्चायती व्यवस्थाकै गुणगान गाउनुपर्ने वाध्यकारी अवस्था पनि थियो । पाठ्यक्रममा पनि ‘पञ्चायत’ नामको एउटा पुस्तक पढ्नुपथ्र्यो । हामीलाई ‘नेताहरू दलगत स्वार्थमा लागेको र जनअपेक्षाअनुसार काम गर्न नसकेकाले श्री ५ महेन्द्रबाट ०१७ साल पुस १ गते देशको माटो सुहाउँदो पञ्चायती व्यवस्थाको प्रादुर्भाव गरिबक्यो’ भन्ने पढाइयो । हामीले त्यही पढ्यौँ । त्यस पुस्तकमा दलीय व्यवस्था असफल हुनुका थुप्रै कारणहरू पेश गरिएका थिए ।

हामी प्रत्येक वर्ष पुस १ गतेका दिन ‘पञ्चायती व्यवस्था– जिन्दावाद’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ ’भन्ने नारा घन्काउँदै गाउँ पञ्चायतको कार्यालयमा जान्थ्यौंँ । त्यसै गरी पुस १४ गते राजा वीरेन्द्र र कार्तिक २२ गते रानी ऐश्वर्यको जन्मोत्सव हुन्थ्यो । यी जन्मोत्सवहरू कहिले आउलान् र रमाइलो होला भनेर दिन गनेर बस्थ्यौँ । जन्मोत्सवमा राजा–रानीकोे फोटोमा माल्यार्पण गरेपछि लामा–लामा भाषण हुन्थे । को–कसले के–के भन्थे हामी बुझ्दैनथ्यौँ, नबुझे पनि सुन्थ्यौंँ । कतिले के के पुरस्कार पनि पाउँथे । हामी फगत ताली पड्काउँथ्यौंँ । कार्यक्रमपछि गलेर, थाकेर, भोकाएर घर पुग्दा पनि आफ्नै खालको रवाफ हुन्थ्यो । आफूलार्ई युद्ध जितेर फर्केका सिपाही जस्तै ठान्थ्यौंँ ।

त्यतिबेला म शायद कक्षा ६ मा पढ्थेँ । हालका परराष्ट्रमन्त्री एवम् नेकपाका स्थायी कमिटीका सदस्य प्रदीप ज्ञवाली र स्व.सिद्धिनाथ ज्ञवाली हाम्रो स्कुलमा पटकपटक आइरहनुहुन्थ्यो । उहाँहरु किन आउनुहुन्थ्यो ? हामीजस्ता केटाकेटीलाई थाहा हुने कुरै भएन । पछि बुझदै गयौँ,हामीलाई पढाउने सबैजसो सरहरू भित्रभित्रै पञ्चायतविरोधी हुनुभएको रहेछ । कम्युनिस्ट भइसक्नुभएको रहेछ । एकदिनको कुरा हो, माननीय प्रदीप ज्ञवाली र रामप्रसाद ज्ञवाली (हामी रामु दाइ भन्थ्यौँ) ले स्कुलका १२–१५ जना हामीलाई नजिकैको रूखमुनि बसालेर केके भन्नुभयो अनि एउटा कमिटी गठन गरेको बताउनुभयो । मलाई ‘तिमी सहसचिव भयौ ’ भन्नुभयो । अध्यक्ष केदार ज्ञवाली (हाल कान्ति मावि बुटवलका सहायक प्रधानाध्यापक), उपाध्यक्ष यज्ञप्रसाद ज्ञवाली (हाल भैलुभुजु रूपन्देहीका नायब सुब्बा) र सचिव डा.चन्द्रकान्त ज्ञवाली (हाल वरिष्ठ अधिवक्ता एवम् संविधानविद्,काठमाडौँ) हुनुहुन्थ्योे । कोषाध्यक्षमा स्व.विमल ज्ञवाली (श्रद्धेय नेता स्व.सिद्धिनाथ ज्ञवालीका सुपुत्र ) । अनि सदस्यमा मीना ज्ञवाली र कृष्णा रानाको मात्र नाम याद छ अरू कोको थिए, अहिले बिर्सियो ।

नेपाली जनतालाई कहिले एकदलीय व्यवस्थाका पञ्चायती नेताहरूले ढाँटे । कहिले राजावादीहरूले ढाँटे । कहिले बहुदलवादी नेताहरूले ढाँटे त कहिले गणतन्त्रवादी नेताहरूले ढाँटे । सबै मिलेर निरीह नेपाली जनतालाई पटक–पटक ढाँटिरहे । अझै पनि अनेक बहानामा सत्ता पक्ष– विपक्षी सबैले ढाँट्दैछन् ।

केही समयपछि बल्ल थाहा भयो त्यस कमिटीलाई अनेरास्ववियू (पाँचौं) को स्कूल प्रारम्भिक कमिटी पो भनिँदोरहेछ । ‘अरू कसैलाई नभन्नु है’ भनेकाले कसैलाई केही बताइएन । त्यसपछि रामप्रसाद ज्ञवाली बारम्बार स्कुल आउँदै खुसुक्क भेट्दै केके किताबहरू दिएर पढ्न वाध्य पार्नुहुन्थ्यो । किताब लुकाउन हामीलाई फसाद पथ्र्यो । किताबका कुरा बुझ्न नसके पनि पढेको बहाना गरेर ती किताबहरू फिर्ता गर्नुपथ्र्यो ।
यसैक्रममा मुलुकमा वि सं २०३७ सालमा सुधारिएको पञ्चायती व्यवस्था वा बहुदलीय व्यवस्था भन्नेमा जनमत सङ्ग्रह गराइयो । सुधारिएको पञ्चायती व्यवस्था चाहनेले पहेँलो रङमा र बहुदलीय व्यवस्था चाहनेले नीलो रङ्मा छाप लगाउने व्यवस्था थियो । तर हाम्रा सरहरूले भने ‘जनमत सङ्ग्रह धोका हो’ भन्दै बहिष्कार गर्न खुसुखुसु हिँडेको अलिअलि सम्झना छ । समय बित्दै गयो । एकदलीय पञ्चायती व्यवस्थाको विरोध गर्दै मानिसहरू आन्दोलित हुन थाले । बहुदलीय व्यवस्थाका पक्षमा भूमिगतरूपमा जुलुस र आन्दोलन बढ्न लागे ।

त्यतिबेला भनिएको थियो–‘एकदलीय व्यवस्थाले नागरिकलाई दाससरह बनायो ।’ ‘नागरिककोे मौलिक हकमाथि प्रतिबन्ध लगायो ।’ ‘विकास अवरूद्ध भयो ।’ ‘जनताले दुःख पाए ।’ ‘देशमा राजाका मुठ्ठीभर व्यक्तिको हालीमुहाली चल्यो ।’ ‘राजाका कारण देशले दुःख पायो ।’ ‘जनताले तिरेको करले दरबारले मोज गर्यो।’ ‘एकदलीय पञ्चायती व्यवस्था नै देश विकासको बाधक हो’ आदिआदि । नेताले भनेका कुरा सत्य होला भनेर त्यही पत्याइयो । पञ्चायतविरोधी आन्दोलनमा सक्रिय भएर लागियो । त्यसो त विसं.२००७ सालअघि हाम्रा पुर्खालाई पनि ‘जनताले दुःख पाउनुको एकमात्र कारण राणाशासन हो’ भनिएको थियो । अनपढ पुर्खाहरूले त्यही बुझे । जानी–नजानी राणाशासन फ्याँक्न क्रान्ति गरे । तर २००७ सालको प्रजातन्त्रपछि देश झन् अस्थिर बनेको थियो । २०१५ सालको आम निर्वाचनमा देशको इतिहासमै पहिलो पटक नेपाली काङ्ग्रेसको दुई तिहाइको सरकार बनेको थियो । त्यसलाई पाखा लगाएर राजा महेन्द्रले २०१७ सालमा मौलिक व्यवस्थाको नाममा पञ्चायत जन्माएका थिए । पञ्चायतविरोधी आन्दोलनमा हामी पनि डराई–डराई लुकीलुकी सहभागी भएका थियौँ ।

३० वर्षसम्म पञ्चायतले जनतालाई दमन गरेको भनेर जनतालाई आन्दोलित बनाउने काम भयो । ‘निर्दलीय पञ्चायती व्यवस्था मुर्दावाद’ भन्दै जनता सडकमा ओर्ले । २०४६ सालमा त्यसलाई पनि मिल्काइयो । प्रजातन्त्रको पुनर्बहालीले देशमा विकास, सुशासन र समृद्धि आउला भन्ने आशा गरियो । अबचाहिँ केही हुन्छ भनेर बुरूक्क उफ्रियो तर परिणाम निराशाबाहेक केही भएन । प्रजातन्त्रको पुनर्बहालीको केही वर्षमै केही मान्छेहरू जङ्गल पसे । आम जनताको दीर्घकालीन मुक्ति र मुलुकमा आमूल परिवर्तनका लागि हतियार उठाउनुको विकल्प छैन भन्दै जनयुद्ध भयो । अब त ठूलै उपलब्धि हुनेछ भनेर एकथरी जनता जमेरै लडे । होला भनियो । त्यो पनि पत्याइयो । हजारौँले ज्यान दिए, हजारौँको ज्यान लिए । मार्ने–मर्ने प्रतिस्पर्धा भयो । तर विनाश र विध्वंशबाहेक अरू खासै उपलब्धि केही भएन । जनतालाई भेँडामात्रै बनाइयो ।

आशा थियो–‘नेपाली जनताले अधिल्ला राजनीतिक परिवर्तनहरूमा जेजे पाउन सकेका थिएनन्, अब त्यो सबै प्राप्त गर्नेछन् ।’ ‘हामी र हाम्रा सन्ततिले सुख,शान्ति र समृद्धि पाइनेछ ।’ ‘मुलुकमा रहेका सबै प्रकारका विभेद अन्त्य हुनेछन्,’ आदि–इत्यादि । देशमा गणतन्त्रको नाममा २०६२–०६३ सालमा दोस्रो जनआन्दोलन भयों । राजतन्त्रका कारण जनताले दुःख पाएको भनियो । गणतन्त्रका लागि जनता पुनः मर्न, मार्न र बलिदानी दिन तयार भए । तर उक्त जनआन्दोलनले पनि केही नेताहरुलाई पद र कुर्सीमा पु¥याउनेबाहेक आम जनतालाई कुनै उपलब्धि दिएन ।
लामो सङ्घर्ष, हजारौँको बलिदानी, पटक–पटकका निर्वाचन र रस्साकस्सीपछि विसं २०७२ सालमा एक थान संविधान बनाइयो । सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने भनेर संघीयता लागू गरियो । तीन तहका सरकार बनाएर विकासको मूल फुटाउने भन्दै देशैभरि सयौँ मन्त्री र हजारौँ सांंसदहरूको व्यवस्था गरेर मुलुकभरि मन्त्री नै मन्त्री बनाइयो । तर, विकास र समृद्धि ? सिंहदरबारको अधिकार गाउँगाउँको नारा ? हालका घटना र कुर्सीका लागि लडिरहेका दलहरुका हर्कतहरुले प्रष्ट पारेकै छन् ।

कम्यूनिस्टहरूलाई चुनावमा जिताए मुलुकमा स्थिरता र समृद्धि आउँछ भनियो । जनता सुखी र समृद्ध हुन्छन्, देशमा शान्ति छाउँछ भन्ने आशा देखाइयो । त्यही आशामा २०७४ सालमा करिब दुई तिहाई मत दिएर जनताले कम्यूनिस्टहरुलार्ई सडकबाट सरकारमा विराजमान गराए । तर, बिडम्बना, पदीय भागबन्डा,कुर्सीको लुछाचुँडी र व्यक्तिगत स्वार्थ नमिलेपछि उनीहरू तीन वर्षमै आपसमा लडेर यतिखेर नानाथरी तमासा देखाइरहेका छन् । कोरोनाविरूद्ध सिङ्गो देश एक भएर लड्नुपर्ने बेलामा हाम्रा नेताहरू फगत कुर्सीका लागि लडिरहेका छन् । विकासको मूल फुटाउन बनाइएका संघ र प्रदेशका सरकार परिवर्तनको बहानामा कुर्सीका लागि ताण्डव नृत्य गर्दैछन् । जनतालाई ठग्ने फेरि अर्को बहाना खोज्दैछन् ।

हिजो ‘जनताले समयमा मल पाएनन्, बजार पाएनन्, मूल्य पाएनन्, सुरक्षा पाएनन्, औषधि पाएनन्, शिक्षा पाएनन्, रोजगारी पाएनन् र एउटा नागरिक हुनुको सम्मानसमेत पाएनन्’ भनियो । आज उनीहरूले आखिर के पाए ? आम जनताको जीवनस्तरमा के तात्विक अन्तर आयो ? आम जनताका लागि पञ्चायत,राजतन्त्र, प्रजातन्त्र–लोकतन्त्र र गणतन्त्रमा के फरक छ ? जनतामा झन् बढी निराशा छ । भ्रष्टाचार बेथिति,विसङ्गति, नातावाद–कृपावाद र सत्ताका लागि लुछाचुँडी अझ बढ्दो छ । खै त जनताको सङ्घर्ष र बलिदानीको मूल्य ? अब गहन विश्लेषण र मूल्याङ्कन हुनैपर्छ । नेपाली जनतालाई कहिले एकदलीय व्यवस्थाका पञ्चायती नेताहरूले ढाँटे । कहिले राजावादीहरूले ढाँटे । कहिले बहुदलवादी नेताहरूले ढाँटे त कहिले गणतन्त्रवादी नेताहरूले ढाँटे । सबै मिलेर निरीह नेपाली जनतालाई पटक–पटक ढाँटिरहे । अझै पनि अनेक बहानामा सत्ता पक्ष– विपक्षी सबैले ढाँट्दैछन् ।

पटकपटकका सङ्घर्षहरुले व्यवस्था बदलिए,व्यक्ति बदलिए तर शासकको मूल प्रवृत्ति भने बदल्न सकेन । नेपाली जनताले जुन प्रवृत्तिका विरूद्धमा पटकपटक संघर्ष गरेका थिए । बलिदानी दिएका थिए, आज तिनै प्रवृत्तिहरू भेष बदलेर नेपाली जनतालाई लुटिरहेका छन्, ठगिरहेका छन् । जनताको ठूलो बलिदानीबाट प्राप्त बहुदलीय प्रजातन्त्रदेखि अहिलेको गणतन्त्रसम्म आलोपालो सत्ताको शीर्ष स्थानमा पुगेकाहरुले जनतालाई बाँडेका सपनाहरू पूरा कहिले गर्छन् ? यक्ष प्रश्न यही नै हो । ती सपनाहरू पूरा गर्न नेपाली जनताले फेरि अर्को संघर्ष गर्नुपर्ने त हैन ? पटक–पटक ठगिएका हामी जनता कहिल्यै नठगिने ग्यारेन्टी के होला ? अब स्थायी समाधान खोज्नैपर्छ । अस्तु ।
( -लेखक ज्ञवाली रुपन्देहीका शैक्षिक अगुवा र वाम बुद्धिजीवी हुनुहुन्छ )

https://www.globalaawaj.com/archives/65758