ताजा अपडेट »

लोकसेवामा ३ लाख ८७ हजारको आवेदन

बुधबार, ११ असार २०७६

असार ११, काठमाण्डौं । लोकसेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन विवादित बने पनि आवेदन दिनेहरु सँख्यमा भने कमि आएको छैन् । अझ दिनप्रति दिा बढिरहेका छन् ।

आयोगले गत जेठ १५ गते स्थानीय तहका लागि खुलाइएको विज्ञापन समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन स्थगित गर्न निर्देशन दिएको छ । विज्ञापनलाई लिएर सर्वोच्च अदालतमा रिट पनि परेको छ । सर्वोच्चमा परेका रिटमाथिको सुनुवाई पनि जारी नै रहेको छ । तर, विज्ञापन खुलेको बुधबार २८ दिनमा तीन लाख ८७ हजार एक सय ७९ जनाले आवेदन भरिसकेका छन् । आवेदन दिने समय अझै एक सातासम्म भएकोले यो संख्या अझै बढन सक्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार आवेदन दिनेमध्ये खुलामा ३ लाख ८२ हजार दुई सय ४४, महिलातर्फ ९३ हजार दुई सय २७ जना, आदिवासी जनजातितर्फ ३९ हजार ५ सय २७ जना, मधेशीतर्फ २२ हजार पाँच सय ८३, दलिततर्फ २ हजार ८ सय १७, अपांगतर्फ १३७ र पिछडिएका क्षेत्रतर्फ १०७ जनाको आवेदन परेको छ । बुधबार मात्रै दिउँसो ४ बजेसम्म ८ हजार दुई सय ८९ जनाले आवेदन दिएको आयोगले जनाएको छ ।

‘यो संख्या बुधबार दिउँसो ४ बजेसम्मको तथ्याङ्क हो । अनलाइन आवेदन दिनेको संख्या बढिरहेको छ,’ आयोगका प्रवक्ता एवम् सहसचिव किरणराज शर्माले भने,‘ सर्वोच्च अदालतले विज्ञापन रोक्न वा फेरबदल गर्न आदेश दिएको खण्डमा बहेक आयोगले विज्ञापन रोक्दैन ।  तोकिएकै समयमा परिक्षा हुन्छ । हामीले अहिले युद्ध स्तरमा काम गरिहेका छौ ।’

स्थानीय तहमा रिक्त रहेका पदका लागी आयोगले नौ हजार एक सय ६१ पदमा गत जेठ १५ गते विज्ञापन खुलाएको थियो ।