असार ११,
बुटवल । काठमाडौ, पोखरा, बुटवल,नारायणघाट लगायत शहरमा घर तथा शटर बहालमा लिएर ब्यापार, व्यवसाय गर्ने तथा आवासिय प्रयोजनमा बसोवास गर्नेहरुलाई दोश्रो दर्जाको नागरिकको अवस्था ब्यहोर्नु परेको गुनासो गरेका छन् ।
नेपाल घरबहाल महासंघका केन्द्रिय अध्यक्ष शंकर कोईरालाले लाखौं रुपैया तिरेर भाडामा बस्ने ब्यबसायीहरु घरधनीहरुको व्यवहारले पीडित हुनु परेको उल्लेख गरे । घरबहालमा बस्नेहरुको अधिकारको बारेमा कुरा उठाउने निकायको अभावमा आफुहरु हेपिने गरेको उल्लेख गर्दै उनले भाडामा बस्नेहरुलाई घरधनिले दोश्रो दर्जाको नागरिकको व्यवहार गर्ने गरेको गुनासो गरेका हुन् । बेलाबेलामा घरधनिहरुले मनोमानी ढंगले भाडा बढाएका कारण व्यवसाय चलाउनेहरु विस्थापित हुने अवस्था आएको बताउँदै महासंघले अन्यायमा परेका बहालवालाहरुको सुनुवाई गर्ने निकाय नहुँदा समस्या भैरहेको समेत बताएको छ । भाडामा बस्ने नेता, सासंद, कानुनविद् , उद्योगपति, विद्यार्थी, कर्मचारी, पत्रकार र मजदुरहरु पनि घर धनिहरुको व्यवहारबाट पींडित हुनुपरेको चर्चा गर्दै यसबाट कोही अछुतो नरहेको भएपनि संगठित हुन नसक्दा घरधनीहरुको हेपाहा प्रबृती हावी भएको महासंघका अध्यक्ष कोइरालाले जिकिर गरे ।
बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल घरबहाल सरोकार संघ रुपन्देहीका संस्थापक अध्यक्ष लेखनाथ भण्डारीले राष्ट्रिय घरबहाल ऐन नभएको र भएको कानुन पनि कार्यान्वयन नभएकाले समस्या जटिल बनेको बताए । घरबहालमा बस्नेहरुलाई राज्यले पनि उपेक्षा गरेको र घरधनीबाट नभै भाडामा बस्ने व्यवसायीबाट कर मात्र असुल्ने गरेको उनले बताए । सरकारलाई घरधनीको घर बहाल कर र घर धनिलाई भाडा बुजाउनुपर्ने दोहोरो मारमा पर्नुपरेको उनको गुनासो छ । देशमा राजनैतिक परिवर्तनसँगै लोकतान्त्रीक गणतन्त्र आएपनि सरकारले घरबहाल ऐन बनाउन नसकेकाले समस्या जटिल बन्दै गएको उनीहरुको भनाई छ । संघका जिल्ला अध्यक्ष राजु लिगलले सरकारले घरबहाल ऐन ल्याउने तयारी गरिरहेको उल्लेख गरे ।
प्रतिक्रिया