असार ११,
बुटवल । बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क हुँदै चिडियाखोला सम्मको सडक विस्तारको काम अन्यौलमा पर्दै आएको छ । सडक सिमा भित्रका घर टहराहरु भत्काउने नभत्काउने भन्ने मुद्दाको फैसला हुन नसक्दा सडक विस्तारको काम अन्यौलमा परेको हो । सो मुद्दाको सुनुवाई यही असार १८ गतेका लागि हुनेगरी सारीएको हो । उच्च अदालत तुल्सीपूर बुटवल इजलासले सो मुद्दाको सुनुवाई आज असार ११ गतेका लागि पेशी तोकेको थियो । आज हुने भनिएको मुद्दाको सुनुवाई उच्च अदालत सरकारी वकिलको कार्यालयले सारेको हो ।
अदालतले अग्राधिकार दिएको मुद्दाको पेशी सरकारी वकिलबाटै हटाइएको बिषयको जिज्ञासामा बुटवल स्थित सरकारी वकिल कार्यालयका शाखा अधिकृत आनन्द प्रसाद शर्माले अध्ययन गर्न नभ्याइएका कारण पेशी हटाउनु परेको प्रतिक्रिया दिए । सात जना सरकारी वकिलको दरबन्दि रहेकोमा हाल तिन जना मात्रै रहेको र मुद्दाको चापका कारण पेशी हटाउनु परेको उनले बताए । बुटवल–बेलहीया व्यापारीक मार्ग बिस्तार आयोजनाले सडक सिमा भित्र पर्ने घर टहराहरु भत्काउन सूचना जारी गरेपछि सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क सडक किनाराका घर धनीहरुले तत्काल घर भत्काउने कार्य रोक्न अन्तरिम आदेशको माग गर्दै अदालत गएका थिए ।
बुटवल उपमहानगरपालिका वडा नं ४ बस्ने नारायणीदेवी प्रधान समेत ३४ जना घर धनीहरुले दायर गरेको मुद्दामा उच्च अदालत तुल्सीपूर बुटवल इजलासले तत्काल घर नभत्काउन अन्तरिम आदेश दिएपछि सडक आयोजनाले सडक सिमा भित्रका घर टहरा भत्काउने या नभत्काउने भन्ने फैसला हुन बाँकी रहेको छ । घर धनीहरुले आयोजनाले घर भत्काउने भए आफुहरुलाई मुआब्जा दिनुपर्ने माग गर्दै आएका छन् । यस अघि आयोजनाले ८२ फुट सडक भित्र कसैको घर जग्गा पर्ने भए आवस्यक प्रमाण सहित कार्यालयमा पेश गर्न भनि सूचना जारी गरेकोमा कसैले पनि आवस्यक प्रमाण पेश गर्न नसकेको आयोजनाको दाबी छ । सोही प्रकृतिको मुद्दा यस अघि अदालतले खारेज गरिदिएको थियो ।
प्रतिक्रिया