असार ११ ,
बुटवल । लागु औषध, मदिरा दुव्र्यसन विरुद्ध सामुहिक पहलको आवश्यकता रहेको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । लागु औषध दुर्व्यसन विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा मँगलबार मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा गरेको कार्यक्रमका सहभागिले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्तिमाजका केन्द्रीय उपाध्यक्ष गोविन्द खनालले लागु औषध दुर्व्यसन रोक्नका लागि कानूनले मात्र प्रयाप्त नहुने जिकिर गरे । विश्वव्यापी रुपमा लागुऔषध दुर्व्यसनको अवैध व्यापार सञ्जाल फस्टाउँदो अवस्थामा रहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले एकल प्रयासले मात्रै नियन्त्रण गर्न गाह्रो भएको उल्लेख गरे । सामुहिक पहल तथा सामाजिक सचेतनाको आवश्यकता औल्याउँदै उनले लागु औषधको प्रयोगले सिँगो समाजलाई असर गर्ने हुँदा घर, विद्यालय, सामाजिक संघ संस्था लगायत क्षेत्रमा सचेतना आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले लागु औषधको दलदलबाट बँच्न सबैलाई आग्रह गरे । लागुऔषधमा फसिसकेपछि निस्कन गाह्रो हुने बताउँदै उनले सबै व्यक्ति सजग हुनुपर्ने औल्याए । रुपन्देहीका विभिन्न विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रम मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष डि. पि. खनालको अध्यक्षतामा भएको थियो ।
प्रतिक्रिया