असार १०,
ग्लोबल आवाज
बुटवल । सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि ९० करोड ८५ लाख ५१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कुल विनियोजित बजेटमध्ये चालु खर्चमा ४४ करोड ११ लाख १० हजार विनियोजन गरिएको छ भने पुँजीगत खर्चका लागि ४६ करोड ७४ लाख ४१ हजार विनियोजन गरिएको हो ।
संघीय सरकारबाट प्राप्त अनुदान ६६ करोड २ लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान ४ करोड ८६ लाख ५५ हजार, जिल्ला समन्वय समितिबाट ३ करोड १८ लाख ८२ हजार ५ सय ५५ रुपैया, आन्तरीक स्रोतबाट १३ करोड १५ लाख ५५ हजार र ३ करोड ६२ लाख ५८ हजार ४ सय ४५ बचत तथा न्यूनबाट पूर्ति हुनेगरि आयको अनुमान गरिएको बजेटमा उल्लेख छ । सैनामैना नगर प्रमुख चित्रबहादुर कार्कीले आज २०७६/७७ का लागि प्रस्तुत गरेको बजेटमा वडा नं. १ मा प्रदेश स्तरको जेष्ठ नागरिक ग्राम र अपाङ्ग ग्राम स्थापना गरिने उल्लेख छ । बजेटमा सैनामैना नगरपालिका, सुद्धोधन गाउँपालिका, कन्चन गाउँपालिका र गैडहवा गाउँपालिकाको संयुक्त लगानीमा अन्तर स्थानीय तह विपद् व्यवस्थापन केन्द्र स्थापना गरि वारुणयन्त्र सञ्चालन गरिने उल्लेख छ ।

बजेटले सैनामैना नगरपालिका वडा नं. ८ मा अन्दाजी २५० बिगाहा क्षेत्रफल रहेको जग्गामा सुविधा सम्पन्न नमुना वस्ति (टाउन प्लानिङ) निर्माणलाई प्राथमिकता दिएको नगर प्रमुख काकीले बताए ।
नगरपालिकाको उपयुक्त स्थानमा सीप विकास प्रतिष्ठानको स्थापना गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत बजेट विनियोजन गर्ने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ ।
सैनामैना वडा नं. ३ मा अवस्थित लामीरहको जलाशय निर्माण योजनाको डिपिआर तयार गर्न प्रदेश योजनामा समावेश गर्ने व्यवस्था मिलाएको बजेटमा उल्लेख छ । कर्साघाट शवदाह गृहलाई थप व्यवस्थित गर्नुको साथै वडा नं. ९ गुरुङ्गडाँडामा रहेको सामाजिक संस्कार क्षेत्रलाई समेत व्यवस्थित गर्ने गरि वजेटको व्यवस्था मिलाइएको छ ।

वडा नं. १० मा निर्माणाधिन रहेको सालझण्डी ढोरपाटन बसपार्कको स्तरोन्नती गरी सञ्चालनमा ल्याउने गरी बजेटको व्यवस्था मिलाइएको उल्लेख गर्दै नगर प्रमुख कार्कीले प्रदेश सरकार समेतको सहभागितामा वडा नं. ३ र ८ मा निर्माणाधीन साप्ताहिक हाटबजार निर्माण सम्पन्न गर्न वजेटको व्यवस्था गरिएको उल्लेख गरे । प्रसुती गराउने महिला र ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको बजेटमा उल्लेख छ ।
वडा नं. १ वनकट्टामा रहेको प्राकृतिक चिकित्सा केन्द्रलाई प्राकृतिक तथा आयुर्वेदिक अस्पतालको रुपमा विकास गर्न र वडा नं. ११ मा रहेको सर्पदंश अस्पताल र सालझण्डी स्वास्थ्य चौकीलाई एकीकृत गरि दुवै स्वास्थ्य संस्थाहरुलाई सञ्चालनमा ल्याउन बजेटले व्यवस्था गरेको छ ।
वडा नं. ७ लमटैयामा प्रारम्भ गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको डिपिआर तयार गरी पूर्वाधार निर्माणको कार्य अगाडि बढाउने व्यवस्था मिलाएको बजेटमा उल्लेख छ । प्रदेश सरकारसँगको सहकार्यमा वडा नं. ३ मा स्मार्ट कुखुरापालन, वडा नं. ६ र ११ मा स्मार्ट पशुपालनको लागि सञ्चालित कृषि ग्राम कार्यक्रमलाई निरन्तरता दिन बजेटको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया