ताजा अपडेट »

अत्यावश्यक सामग्रीको कमी हुन दिन्नौं : रुपन्देहीका स्थानीय तह र व्यवसायी

विहीबार, १६ बैशाख २०७८
1 Shares

बुटवल । कोरोना संक्रमणको दोस्रो लहरसँगै रुपन्देहीमा निषेधाज्ञा जारी भएपछि दैनिक उपभोग्य बस्तुको आपूर्तिको जिम्मा निजी क्षेत्रलाई दिइएको छ । कोभिड–१९ नियन्त्रण केन्द्रको बैठकले उपभोग्य बस्तुको आपूर्तिका लागि सहजीकरण गर्न जिल्लाका उद्योग वाणिज्य संघ, व्यापार संघ लगायतका व्यवसायीक संस्थाहरुलाई आग्रह गरेको हो ।

निषेधाज्ञाको समयमा आपूर्तिलाई सहज बनाउन उद्योगी व्यवसायीहरुले योजना बनाएर अघि बढ्ने तयारीमा रहेको बताएका छन् । बजारमा आपूर्तिको समस्या तथा कालोबजारी रोक्नका लागि आफूहरु जिम्मेवार भएर काम गरिरहेको उनीहरुले बताएका हुन् । महामारीमा उपभोक्तालाई सहज र सरल रुपमा सेवा प्रदान गर्नका लागि बुटवल उद्योग वाणिज्य संघले कमिटी गठन गरेको अध्यक्ष उज्वल कसजुले बताए । ‘पहिलेको भन्दा अलि कडा रुपमा जानु पर्ने छ ।’–ग्लोबल आवाजसँगको कुराकानीमा कसजुले भने बुटवल उपमहानगरपालिका भित्रका बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, व्यापार संघ लगायतको ५ जनाको कमिटी गठन भएको छ ।’

कमिटीले छिट्टै बैठक बसी उपभोग्य बस्तुका पसल खोल्ने की फरक तरीकाले अगाडी बढ्ने विषयमा निर्णय गर्ने बताए । यस्तै कोरोना संक्रमणका विरामीलाई अक्सिजनको अभाव रहेकाले विभिन्न संघ–संस्थासँगको समन्वय र सहकार्यमा अक्सिजन बैङ्कको व्यवस्था गर्ने तयारी रहेको बताए । दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति गर्नुको विकल्प नरहेको भन्दै उनले २०/२५ दिनका लागि मौज्दात रहेकाले पहिलाजस्तो देशव्यापी रुपमा लकडाउन नरहेकाले उपभोग्य बस्तुको आपूर्तिमा कुनै समस्या नहुने बताए ।

महामारीको समयमा कालोबजारी गर्ने, कृत्रिम अभाव सूचना गर्ने र कम गुणस्तरको सामानको बिक्री गर्ने व्यवसायीलाई कारवाही गर्ने सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले बताएका छन् ।‘ महामारीको बेला व्यपारीहरुले कलोबजारी गर्नु हुँदैन ।’– उनले भने यदि कुनै व्यापारीले त्यसो गरेमा कालोबाजारी ऐन अनुसार कारवाही गछौँ ।’

यस्तै नगरपालिकाले निषेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विकास निर्माणका काम गर्ने दिने बताएका छन् । निषेधाज्ञाको बेला कुनै ज्याला मजदुरी गरी जिविकोपार्जन गर्नेलाई कुनै समस्या परेमा नगरपालिकाले आवश्यक सबै सहयोग गर्ने बताए । महामारीको समयमा उपभोक्तालाई सहज रुपमा दैनिक उपभोग्य बस्तु आपूर्ति भए नभएको बारेमा शुक्रबारदेखि नै नियमति अनुगमन गर्ने मेयर कार्कीले बताए ।

बुटवल उपमहानगरपालिकाले निषेज्ञाधाको समयमा नगरभित्र उपभोक्तालाई सहज रुपमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउन व्यवसाहीलाई निर्देशन दिएको छ । बुटवल उपहानगरका प्रमुख शिवराज सुवेदीले विहीबार विभिन्न उद्योगी व्यवसायी संघ–संस्थाका प्रतिनिधिहरुलाई छलफलमा बोलाएर महामारीको बेला सहज रुपमा सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् । ‘आज मात्रै नगर भित्रका व्यवसायीहरुलाई छलफलमा बोलाएर अक्सिजन, खाद्यान्य लगाएत अति आवश्यक बस्तुको आपूर्ति गर्न भनेको छु।’ मेयर सुवेदीले ग्लोबल आवाजसँगको कुराकानीमा भने ‘निषेधाज्ञामा नगर भित्रका नागरिकलाई आवश्यक परेको खण्डमा जस्तो प्रकारको सहयोग गर्न पनि उपमहानगरपालिका तयार छ ।’

यस्तै निषेधाज्ञाको समयमा निर्माण व्यवसायीहरुले आवश्यक स्वास्थ्य सुरक्षाको प्रोटोकल अनुसार नियमित काम गर्न सक्ने शुवेदीले बताए । साथै बन्दको समयमा दैनिक मजदुरी गरेर खाने निम्न वर्गका नागरिकलाई समस्या परेमा जुन टोलमा बस्ने हो त्यहाँको टोल संस्था र राजनीतिक संयन्त्रबाट आवश्यक सहयोग गर्ने बताए ।

बन्दाबन्दीको समयमा जहाँ असहज स्थिति छ त्यहाँ जस्तो सुकै सहयोग गर्न पनि रुपन्देही व्यापार संघ तयार रहेको संघका अध्यक्ष यमलाल लोहनीले बताएका छन् । ‘केही भोकै रहेर मर्ने स्थिति आयो भने व्यापार संघ सहयोग गर्न र सहजीकरण गर्न तयार छ ।’ अध्यक्ष लोहनीले भने स्थानीय सरकारले पनि व्यवस्था गर्ला ।’

वर्षाको समय आउन लागेकाले व्यापर संघले पहिला नै खाद्यान्यको स्टक गरिसकेको भन्दै लोहनीले व्यापरसंघले रुपन्देहीमा मात्रै नभएर १८/२० जिल्लामा खाद्यान्यको आपूर्ति गर्न सक्ने बताए । जिल्ला प्रशासन कार्यालयले आपूर्ति पुर्याउने साधनको जिम्मा दिएकाले पनि कुनैपनि सामान एक ठाउँबाट अर्को ठाउँमा समान पुुर्याउन समस्या रहेमा व्यापार संघले सहयोग गर्ने बताए । यस्तै माहामारीको समयमा कालोबजारी हुने गरेकाले त्यस्तो गतिविधि रोक्न लागि व्यापार संघ स्वयम्ले नै अनुगमन गर्ने अध्यक्ष लोहनीले बताए ।