ताजा अपडेट »

तिनाउमा बजेट,नीति तथा कार्यक्रममा एक साथ छलफल सुरु

सोमबार, ०९ असार २०७६

असार ९,
ग्लोबल आवाज

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुका साथै विनियोजित बजेट माथि छलफल सुरु गरेको छ । गाउँपालिकाको सोमबारदेखि सुरु भएको पाँचौ गाउँसभामा गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷७७ को लागि विनियोजित बजेट तथा उपाध्यक्ष दमयन्ती थापाले प्रस्तु गरेको नीति तथा कार्यक्रममा एकसाथ छलफल सुरु भएको हो ।


अध्यक्ष घर्तिले गाउँपालिकाका लागि संघिय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान गाउँपालिकाको आन्तरिक श्रोत गरी कुल ३८ करोड ९ लाख ७८ हजारको बजेट प्रस्तुत गरे । भौतिक निर्माण तथा पूर्वाधार विकासका लागि प्रत्येक वडामा छुट्याइएको बजेट बाहेक २ करोड ५५ लाख विनियोज गरिएको छ भने कृषि पशुपालन, वन व्यवस्थापन तथा भू–संरक्षणका लागि १ करोड ८० लाख विनियोजन गरिएको छ । गाउँपालिकालाई फुसको छानारहित बनाउने अभियानलाई निरन्तरता दिँदै यो वर्ष ३० लाख रुपैयाँ रकम विनियोजन गरिएको अध्यक्ष घर्तिले उल्लेख गरे ।


वडागत तहमा विनियोजन हुने बजेटका लागि ५ करोड ८० लाख रुपैयाँ रकम विनियोजन गरिएको छ भने पर्यटन, शिक्षा, लक्षित वर्ग संस्कृति संरक्षण, एकीकृत घुम्तिसेवा लगायत विभिन्न शिर्षकका लागि ३ करोड बढी रकम विनियोजन गरिएको छ । गाउँपालिकाको विकासका लागि भन्दै अन्य विभिन्न साना शिर्षकहरुमा पनि बजेट विनियोजन गरिएको छ ।