काठमाडौँ । कोभिड-१९ विरुद्ध खोप लिएका धेरै मानिसमा सुई लगाएको ठाउँमा दुख्ने गरेको पाइएको यूकेमा गरिएको एउटा अध्ययनले देखाएको छ।चारमध्ये झन्डै एक जनामा ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने र थकान हुने समस्या देखियो। तर त्यस्ता समस्याहरू औसतमा एक दिन मात्र कायम रहे।
जेडओई कोभिड सिम्प्टम स्टडी एपमा संलग्न अनुसन्धानकर्ताहरूले खोप लिने मानिसमा क्लिनिकल परीक्षणका बेलाभन्दा कम दुष्प्रभाव देखा परेको विवरण सङ्कलन गरेका छन्। गत वर्षको अन्त्यतिरदेखि मानिसहरूको खोपमा विश्वास बढेको देखिएको छ। सर्वेक्षणमा सहभागी ५,००० जनामध्ये ८० प्रतिशत मानिसले खोपहरू सुरक्षित र प्रभावकारी भएको विश्वास व्यक्त गरेका छन्। उक्त सर्वेक्षण यूकेको न्याश्नल इन्स्टिट्यूट अफ हेल्थ रिसर्चसँगको सहकार्यमा गरिएको हो। पहिलाको भन्दा दुईगुना मानिसले यथाशक्य चाँडो खोप लिन पाए हुन्थ्यो भनेका छन्।
तर आफूलाई अक्सफर्ड-आस्ट्राजेनेकाकै खोप चाहिन्छ भन्ने मानिसको सङ्ख्या घटेको छ। खोप लिएको आठ दिनपछि आफूमा देखिएका लक्षणहरू एपमा दर्ता गरेका ६,२७,३८३ जना मानिसबाट सङ्कलित विवरणको जेडओईका शोधकर्ताहरूले अध्ययन गरेका थिए।
फाइजरको खोप लिने ७० प्रतिशत मानिसमा सुईले घोचेको ठाउँमा केही प्रतिक्रिया भएको देखियो। तिनमा पीडा हुने, छुँदा दुख्ने, रातो हुने वा सुनिने समस्या देखा पर्यो।
तर आस्ट्राजेनेका खोप लिएकामध्ये ६० प्रतिशत मानिसमा मात्रै त्यस्तो प्रभाव परेको पाइयो। तर सुई लगाएको ठाउँमा बाहेक शरीरका अन्य अङ्गमा देखा परेका प्रभावहरूको प्रवृत्ति भने ठिक विपरीत थियो। आस्ट्राजेनेका खोप लगाएका ३४ प्रतिशत मानिसमा टाउको दुख्ने, थकाइ लाग्ने वा जाडो हुने जस्ता प्रभाव देखियो। तर फाइजर खोपको पहिलो मात्रा लिँदा १४ प्रतिशत र दोस्रो मात्रा लिँदा २२ प्रतिशतमा मात्र त्यस्ता प्रभावहरू देखा परे। यी दुष्प्रभावमध्ये टाउको दुख्ने समस्या धेरै जनामा देखियो।
अध्ययनको नेतृत्व गरेका किङ्स कलेज लन्डनका वैज्ञानिक प्रा. टिम स्पेक्टरका अनुसार परिणामबाट मानिसहरू खोपको दुष्प्रभाव "प्रायः सामान्य र छोटो अवधिका लागि मात्र" हुन्छन् भनेर ढुक्क हुन सक्छन्।
तर उमेर र लिङ्ग तथा अन्य कुराका आधारमा मानिसहरूमा कोरोनाभाइरसले जस्तै खोपले पनि विभिन्न किसिमका प्रभावहरू देखाएको उनले बताए। यो अध्ययनमा आस्ट्राजेनेका खोपको दोस्रो मात्रा लिएपछि उत्पन्न हुने प्रभावबारे अध्ययन गरिएको छैन। अध्ययनका बेला मार्च १० सम्म दोस्रो मात्रा वितरण हुन थालिसकेको थिएन।-बिबिसी
प्रतिक्रिया