असार ८,
लमजुङ । लमजुङ, असार ८ गते । हिमाली जिल्ला मनाङ जोड्ने बेलिब्रिज बाढीले बगाएको छ । लमजुङसंगको सीमा क्षेत्र म्यार्दीखोलामा गत साउनमा निर्माण गरिएको ‘बेलिब्रिज’ आइतबार दिउँसो बगाएको हो ।
शनिबारदेखि निरन्तर बर्षा भइरहँदा म्यार्दीखोला बढेर आइतबार दिउँसो २.०० बजेतिर पुल बगाएको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । उनका अनुसार निरन्तर बर्षा भइरहँदा आइतबार दिउँसो पुल बगाएको खबर आएको हो । उनले भने–‘चामेबाट बेंसीसहर जाँदै गरेका सवारी साधनमा सवार स्थानीयले पुल बगाउन लागेको खबर मलाई गर्नुभयो । त्यसलगत्तै तालबाट प्रहरी खटाएका थियौं । उनीहरु पुग्दा पुल बगाइसकेको खबर आयो ।’
मनाङका प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीका अनुसार बेलिब्रिज बगाएसँगै सवारी साधन आउजाउ हुन सकेको छैन । वारीको र पारीका सवारी सधान रोकिएका छन् । मनाङबाट बेंसीसहर आउँदै गरेको र बेंसीसहरबाट मनाङ जाँदै गरेका पर्यटक, स्थानीय, यात्रुलाई समस्या भएको उनले बताए ।
उनले भने–‘पानी निरन्तर परिरह्यो । शनिबार त पुल नै बगायो । सवारी अलपत्र छन् । पानीको सतह नघटेसम्म उक्त खोला भएर सवारी आवातजावत गर्न मिल्दैन ।’ प्रहरीका अनुसार दिउँसो १ बजेर ५० मिनेटको समयमा पुल बगाएको हो । शुक्रबारबाट अबिरल बर्षा भइरहेकाले पुल बगाएको स्थानीयले बताएको छन् । मनाङबाट निर्वाचित संघीय सांसद पोल्देन छोपाङ गुरुङका स्वकिय सचिव चीन घलेका अनुसार चामेबाट बेंसीसहर आउँदै गर्दा उक्त पुल बगाएको हो । पुल बगाएपछि यात्रु अलपत्र परेको उनले बताए ।
गत बर्षको साउनमा उक्त पुल निर्माण गरिएको थियो । त्यसअघि काम चलाउको रुपमा बनाइएका काठे पूलमा समस्या आएपछि बेलिब्रिज निर्माण गरिएको थियो । सडक डिभिजन कार्यालय दमौलीमार्फत ग्याल्बा–क्याराभान जेभी कन्ट्रक्सनले एक करोड ७५ लाख रुपियाँमा पूल निर्माण गरेको हो । म्यार्दीखोला लमजुङको बेंसीसहरबाट ३५ र मनाङको चामेबाट ३० किलोमीटरको दुरीमा पर्छ ।
२०६४ मा नेपाली सेनाले सडक निर्माण गर्दा बनाएको काठेपूल २०७२ जेठमा भाचिएको थियो । त्यसपछि डिभिजन सडक कार्यालय दमौलीले ‘स्टील गार्डर ब्रिज’ राखेकोमा उक्त पूल एक महिनापछि असार ३१ गते म्यार्दीखोलामा आएको भीषण बाढीले बगाएको थियो । पुनः काठेपूल निर्माण गरी सवारी आवतजावत गराइएको थियो । त्यसपछि गत साउनमा बेलिब्रिज बनाइएको थियो । लमजुङ–मनाङ आवतजावत गर्न बेंसीसहर–चामे सडक २०६९ सालबाट सुचारु भएको हो । चामे पुग्नमात्रै बेंसीशहरबाट करीब ७ घण्टा लाग्छ ।
-बेलिना थापा /गोर्खापत्र
प्रतिक्रिया