हामीलाई अनेक किसिमका भयसंगै परीक्षाको भयले पनि सताउने गर्दछ । परीक्षा अगावै जति तयारी गरेपनि परीक्षाको दिन खोई किन हो किन भयले चिट चिट पसिना आउने, मुटु धडकने, डर लाग्ने, नर्भस होईने आदि भावबाट गुज्रने गर्दछौं । एक किसिमको भयानक आतंक झैं लाग्छ परीक्षा।
मृत्यु, भवितव्य, संकट, दुर्घटना आदि जस्तो त पक्कै होईन परिक्षा । तर पनि साना स्कुले बालबालिकादेखि वयष्क मानिसपनि परिक्षाबाट भयभित देखिन्छन् । त्यसैले परिक्षाको कारण हुने भयलाई अंग्रेजीमा Test Anxiety भनिन्छ । भनिन्छ विख्यात वैज्ञानिक अल्बर्ट आईन्सटाईन पनि यस परिक्षाको भयबाट पिडित थिए । मानवविकासको क्रममा मरुभुमिमा मानिसले सर्प देख्दा जसरी सर्पको टोकाईबाट बाँच्नको लागि प्रतिकृया देखाउंथे र तनावमा रहन्थे करिब करिब त्यस्तै किसिमको भय र तनाव यस परिक्षा प्रणालीले दिने गरेको अध्ययनले देखाउने गर्दछ ।
अझ एसईई परीक्षाका कारण लाखौं विद्यार्थी अहिले यही तनावबाट गुज्रिरहेका छन् । आखिर किन हुन्छ त यस्तो तनाव हामीलाई? यसको मनोविज्ञान के रहेछ त भनी केही मनोवेत्ताका विचारमा घोत्लिदा निकै रोचक तथ्यहरु देखा पर्दछन । परीक्षा आफैले दिने भय भन्दा परिक्षाको नतिजाको कारण हुने भय ठुलो हुने रहेछ । जस्तो बालबालिकाले परिक्षाको नतिजाको कारण आफ्ना प्रियजनबाट, आमाबुवा अनि अभिभावकबाट हुनसक्ने प्रतिकृया, जस्तो राम्रो नतिजा आए अत्यधिक प्रशंसा अनि नआए आक्रोस, गाली अनि अपमानको कारण परिक्षा प्रणाली नै भयको रुपमा स्थापित रहेको छ ।
अझ बालबालिकाको मनोविज्ञान अनुसार परिक्षाको खराब नतिजाबाट आफ्ना प्रियजनबाट प्राप्त माया प्रेममा कमी आउने हो कि भन्ने भयले जरो गाढेको देखिन्छ । बालबालिकालाई अत्यावश्यक मानसिक, मनोवैज्ञानिक एवं भावानात्मक सम्बन्धमै समस्या पर्ने यस्तो जटिल परिक्षा प्रणाली उनीहरुले निकै गम्भिर रुपमा लिने गर्दछन् । जसको कारण बालबालिकाहरु परिक्षाको समय निकै तनाव र भयमा देखिन्छन् । अनि त्यस्तैगरि परिक्षाको नतिजा निस्कने दिन झन तनावमा रहनेगर्दछन् । विद्यालयले अभिभावकलाई बोलाएर नतिजा वितरण गर्दा करिब करिब आतंक श्रृजना हुने गर्दछ ।
अर्को महत्वपुर्ण कारकको रुपमा हामीले समाजमा असफल हुने कार्यलाई असाध्यै शरमको विषय, लाजको विषय र अपमानको विषय बनाएका छौं । हाम्रो मनोविज्ञान यस्तो छ कि मानौं हामी असफल हुनै हुन्न । एउटा परिक्षामा असफल हुँदा त्यस्तै किसिमको लांछना भाव हामी हाम्रा बालबालिका वा अन्य परिक्षार्थीलाई लगाउंछौं । एकपटककै प्रयासमा हामी सफल हुनु पर्छ भन्ने भाव र दवाव हामीले स्थापति गरेका छौं । हिंड्दाखेरि लडिन्छ भन्ने सामान्य जिवनको मर्म हामी भुल्दछौं । सायद यही भयका कारण कक्षा दश तहको परिक्षामा फेल हुनुलाई सारा जिवननै सर्वनाश भए झैं मानेर किशोर किशोरीहरु आत्महत्या समेत गर्न पुग्दछन् । जबकि अर्को पटकको प्रयासमा हामी उत्तिर्ण हुन सक्छौं र आगामी जिवनका गतिलाई निरन्तरता दिन सक्छौं भनेर सामान्यीकरण गर्न अभिभावक, शिक्षक एवं समाज लाग्नु पर्ने हो ।
सायद कक्षागत परिक्षाको नतिजालाई जिवनमा सफल वा असफल हुने गरि जोडिनु नै हतास र हतार भएको मानसिकता हो हाम्रो । प्राज्ञिक रुपमा सफल हुनुलाई मात्र सर्वागिण रुपमा सफल सोचिनु महाभुल हो । साना बालबालिकाको मस्तिष्कमा सानैबाट यस्तो परिक्षाको भय विजारोपण गर्न अभिभावक, शैक्षिक संस्था र समग्र राज्य प्रणाली नै लागेको प्रतित हुन्छ । सिंगापुरमा एउटा विद्यालयले बालबालिकाको नतिजा उनीहरुका अभिभावकलाई पठाउँदा संगै एउटा नोट पनि पठाउने गर्दछ । जस्मा लेखिएको हुन्छ , अभिभावक ज्यु, तपाईंको बच्चाको यो नतिजाले तपाईको वच्चाको पुर्ण रुपमा मुल्याङकन नगर्न सक्दछ । जस्तो तपाईंको बच्चा मिलनसार छ, करुणावान छ, सहयोगी छ, अतिरिक्त कृयाकलाप जस्तो खेलकुद, संगित, नाटक वा अन्य बौद्धिक खेल चेस आदिमा निपुर्ण छ तर यो मार्कसिटमा उल्लेख छैन ।
त्यही भएर तपाईंको बच्चाको यो नतिजालाई लिएर यहाँहरुमा बच्चाको कमजोरी वा अक्षमता सोचेर मुल्याङकन नगर्नु हुन अनुरोध छ भनी यस्तो आशयको चिठी पठाउने गरेको देखिन्छ । बालबालिकाको मनोविज्ञानलाई बुझेर अध्यापन गरिने यो जत्तिको उत्कृष्ट अभ्यासको उदाहरण विरलै भेटिन्छ । जसले गर्दा अभिभावकले आफ्ना बालबच्चा वा सन्तानलाई परिक्षा र नतिजामा दवाव दिन आवश्यक नै देखिन्न । जसको कारण भय वा डर हट्ने भयो । पुर्ण आत्मवलका साथ बालबालिकाहरु जस्तै परिक्षाहरु पनि झेल्न सक्ने भए ।
यसो नभएमा अवचेतन मनमा संग्र्रहीत तनाव पछि अवसादको रुपमा प्रकट हुने सम्भावना पनि हुन्छ । अनि बालबालिकालाई पढाई लेखाई कर्म पनि बोझिल लाग्ने, मन मर्ने अनि पढाई नै छाडिदिने स्थिति पनि हु सक्छ । बालबालिका लगायत अन्य परिक्षार्थी अनि अभिभावक, शिक्षक तथा समाजले परिक्षालाई स्वाभाविक रुपमा ग्रहण गरि एउटा सामान्य सिकेको ज्ञान कत्तिको जानिएछ भन्ने पृष्ठपोषण (Feedback) को रुपमा लिनु पर्दछ ।
सामान्य कक्षागत परिक्षाको न्युन अंकलाई भयानक असफलताको रुपमा नकरात्मक तरिकाले बढाईचढाई गर्ने प्रवृत्तिलाई हटाउनु पर्दछ । सफल हुनको लागि यिनै कठिनाई र असफलता नै हाम्रा सिँढि हुन् हाम्रा प्राप्त गर्ने लक्षहरुको लागि । तर एउटा कुरा के हो भने हामीले मेहनत र प्रयास र तयारी गरेको खण्डमा मात्र प्राप्त परिक्षागत भयलाई न्युन गर्न सकिन्छ ।
प्रतिक्रिया