काठमाडौँ । कोरोनाभाइरस महामारीका कारण नराम्ररी भारतमा अहिले अक्सिजन अभावका कारण कैयौँ बिरामीहरूले ज्यान गुमाइरहेका छन्। नेपालमा पनि अहिले जटिल अवस्थाका बिरामीहरूको सङ्ख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपरेका विवरणहरू आइरहेका छन्।
घरमै शरीरमा अक्सिजनको तह जाँच गर्न सकिने उपकरण अक्सिमिटरको बजारमा माग व्यापक रूपमा बढेको व्यवसायीहरूले बताएका छन्।अहिले नेपालमा सञ्चालनमा रहेका अक्सिजन उद्योगहरू पूर्ण क्षमतामा चले आपूर्तिमा समस्या नहुने तर सिलिन्डरको अभाव 'ठूलै समस्या'का रूपमा देखा परेको व्यवसायीहरूको भनाइ छ। उनीहरूले विदेशबाट नयाँ सिलिन्डर ल्याउने व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका छन्।
"पूर्वतयारी भएको हुन्थ्यो भने सरकार सरकारबीच सहमति गरेर द्रूत गतिमा 'फास्ट ट्र्याक'बाट ल्याउने कुरामा सहजीकरण गरिदिनुपर्थ्यो। घर्किसक्यो समय। सिलिन्डर राज्यले एअरलिफ्ट गरेर ल्याउने हो भने कोभिडको विकराल समस्या पर्दा बिरामी बचाउन अवसर हुन्छ,'' एक जना अक्सिजन उद्योग सञ्चालक शिवप्रसाद घिमिरेले बीबीसीसँग भने। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता समिर अधिकारीले विदेशबाट नयाँ सिलिन्डर खरिद गरेर सहज रूपमा ल्याउन कठिन हुने बताउँदै त्यसका लागि कूटनीतिक पहल भइरहेको जानकारी दिए।
"खरिद गरेर मात्रै पाउने अवस्था देखिन्न अहिले अक्सिजन सिलिन्डरका हकमा। कुनै विशेष किसिमको कूटनीतिक प्रयास गर्नुपर्ने देखिएर त्यसका लागि कामहरू अघि बढेका छन्," डा. अधिकारीले बीबीसीसँग भने।
सोमवार अपराह्णसम्मको विवरण
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
"दक्षिणी छिमेकी देश भारतबाट केही पनि ल्याउन सकिने अवस्था छैन। हाम्रो प्रयास चाहिँ जहाँ सङ्क्रमण कम छ र उत्पादन बढी छ ती देशहरूमा प्रयास गर्ने हो। त्यसका लागि हामीले समन्वय अघि बढाइसकेका छौँ।" उत्तरी छिमेक चीनसहित अन्य देशबाट अक्सिजन सिलिन्डर आपूर्ति गर्ने सम्भावनाका विषयमा आफूहरू खुला रहेको र तदनुरूप कूटनीतिक पहल भइरहेको अधिकारीले जानकारी दिए।
अक्सिजनको आवश्यकता व्यापक रूपमा पर्ने सक्ने कतिपय विज्ञहरूको अनुमानकाबीच मानव शरीरमा अक्सिजनको मात्रा बारे थाहा पाउन आवश्यक महत्त्वपूर्ण पक्षबारे सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदीका सुझावलाई हामीले यहाँ समेटेका छौँ।
कोरोनाभाइरसको सङ्क्रमण जटिल चरणमा जाँदा अक्सिजन कम हुने डा. सुवेदी बताउँछन्। अक्सिजन कम हुँदा निश्चित उपचार सुरु गर्नुपर्ने हुन्छ। "त्यसै कारण कोरोनाभाइरस पोजेटिभ हुनेबित्तिकै हामी बिरामीलाई शरीरमा अक्सिजनको तह नाप्न सिकाउँछौँ," उनले भने।
सामान्यतया पल्स अक्सिमिटर भन्ने उपकरणले अक्सिजन नाप्दा तह ९५ देखि ९६ हुन्छ। 'आईसीयू नभएर सङ्क्रमित घरमै अक्सिजन लिन बाध्य' समुद्री सतहबाट काठमाण्डूको उचाइ बढी भएकाले अक्सिजनको तह ९६-९७ भन्दा प्रायः बढी नहुने उनी बताउँछन्। "तर धेरै मोटा मान्छेहरू अथवा फोक्सोको, दमको रोग भएका मान्छेहरूमा पहिले नै अक्सिजनको मात्रा पल्स अक्सिमिटरले कम देखाउन सक्छ। उहाँहरूका लागि सामान्य अङ्कनै ९२-९३ हुन सक्छ। कसैको ९० मात्र पनि हुन सक्छ," उनले भने।
अरू कुनै स्वास्थ्य समस्या नभएका मान्छेमा कोरोनाभाइरस सङ्क्रमण देखिएको अवस्थामा अक्सिजनको मात्रा घटेर ९२ वा त्यो भन्दा कम भए अस्पताल जान र उपचार गराउन डा. सुवेदी सुझाउँछन्।
सामान्यतया कोरोनाभाइरसको लक्षण सुरु भएको करिब एक सातापछि मात्रै अक्सिजनको तह कम हुँदै जाने डा. सुवेदी बताउँछन्। आफूलाई कहिलेबाट लक्षण सुरु भएको हो भन्ने कुरा थाहा पाएको अवस्थामा हरेक दिन वा छिन छिनमा अक्सिजन नापिरहनु नपर्ने उनको भनाइ छ।"हामी दिनमा दुई-तीन पटक नाप्न सुझाउँछौँ ," उनले भने। सामान्य अवस्थामा अक्सिजन ९५-९६ भएको व्यक्तिमा ९३ तिर देखियो वा घट्न थालेको सङ्केत देखियो भने चारदेखि पाँच घण्टामा नाप्नुपर्ने उनको सुझाव छ।
कोरोनाभाइरस महामारी चलिरहेको भएपनि अत्यावश्यक नभएसम्म अस्पताल नजान चिकित्सकहरूले सुझाइरहेका छन्। चाप धेरै भएकाले सामान्य अवस्थाका कोभिड बिरामी समेत घरमै बसिरहेको विवरणहरू आइरहेका छन्।
तर अक्सिजनको तह कम हुन लागेको अवस्थामा भने अस्पतालमै जानुपर्ने डा. सुवेदीको सुझाव छ।"घरमा बसेर अस्पतालमा दिन सकिने निश्चित उपचार दिन मिल्दैन। अर्को कुरा त्यो अवस्थामा पुगेपछि बिरामीलाई निगरानीमा राख्नुपर्छ र अक्सिजनको मात्रा घट्न थाल्यो भने घरमा थोरै अक्सिजन लगाएर मात्रै माथि ल्याउन सकिँदैन। अस्पतालमा एक पटकमा अलि धेरै अक्सिजन दिन मिल्ने व्यवस्थाहरू छन्," उनले भने।
यसको 'खासै ठूलो' उपाय केही पनि 'नभएको' सुवेदी बताउँछन्। 'सकेसम्म फोक्सो स्वस्थ राख्नुपर्ने हुन्छ। त्यो भनेको पहिले देखिनै तपाईँले तयारी गर्ने हो। चुरोट खाइरहनुभएको छ भने छाड्ने। स्वास्थ्यकर बानीबेहोराबाहेक अन्य केही उपाय छैन।" कतिपयले प्राणायाम, योगका अभ्यास गर्ने गरेको भए पनि त्यससँग सम्बन्धित तथ्याङ्क आफूलाई थाहा नभएकाले उनी आफू केही भन्न सक्ने स्थितिमा नभएको उनको भनाइ छ।
अक्सिजन कम हुन लागेको सङ्केत देखिए सुत्दा घोप्टो पर्नु राम्रो हुने उनको सुझाव छ। "गाह्रो भए कोल्टे पर्ने। सकेसम्म उत्तानो परेर नसुत्ने। त्यो विचार गर्न सकिन्छ। त्यसले फाइदा गर्छ भनेर देखाएको छ। त्यो चाहिँ प्राय अक्सिजन घटिसकेका मान्छेलाई हामी सुझाउँछौँ। अक्सिजन घटेको जस्तो आफूलाई लाग्छ भने त्यस्तो अभ्यास गर्दा हुन्छ," उनले भने।
कुनै पनि खानाले शरीरमा अक्सिजनको तहलाई कायम गर्न सहयोग गर्छ भन्ने नदेखिएको डा. सुवेदी बताउँछन्। साधारण अवस्थाको आहारविहार नै कायम राख्न उनी सुझाउँछन्। "कोरोनाभाइरस सङ्क्रमण हुँदा पनि गर्ने त्यही नै हो," उनले भने। "झोल कुरा, पानीको मात्रा बढाउँदा राम्रो हुन्छ। मद्यपान गर्नु हुँदैन।" शरीरलाई विशेष खाना खाँदा अक्सिजन बढिरहन्छ भन्ने कुनै अध्ययनले नदेखाएको उनी बताउँछन्।-बिबिसी
प्रतिक्रिया