ताजा अपडेट »

मास्क प्रयोग नगरे रु ५० जरिवाना

मंगलबार, १४ बैशाख २०७८

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम प्रहरीले सोमबारदेखि महेन्द्रनगरमा मास्क विना हिँड्डुल गर्नेलाई कारबाही थालेको छ । पहिलो दिन सोमबार बजार क्षेत्रमा मास्क विना हिँड्डुल गर्ने ३७ जनालाई कारबाही गरिइएको छ । कारबाहीस्वरुप उनीहरुबाट रु एक हजार ८५० जरिवाना असूल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ‘तपार्इंको मास्क खै रु अनिवार्य मास्क लगाउनु है रु”, अभियान थालनी गरेको प्रहरीले बजार र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण न्यूनीकरणका उपाय अपनाउन माइकिङसमेत गरिरहेको छ ।शुरुमा प्रहरीले ८०-९० जनालाई सम्झाइबुझाइ गरेर छाडेकोसमेत जनाएको छ ।

दुई सङ्क्रमितको मृत्यु

कोरोना भाइरस सङ्क्रमणबाट सोमबार कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भीमदत्त नगरपालिका–४ का ६० वर्षीय पुरुष र सोही नगरपालिका–१५ का ७० वर्षीय पुरुष रहेको छ । उपचारका क्रममा सोमबार दुबै जनाको महाकाली अस्पतालमा मृत्यु भएको हो । कोरोना सङ्क्रमणपछि दुबै जनालाई उपचारका लागि सो अस्पतालमा भर्ना गरिएको थियो । बितेको तीन दिनमा अस्पतालमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भइसकेको महाकाली अस्पताल कोभिड-१९ सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले जानकारी दिनुभयो । उनले हाल अस्पतालमा ६० जना सङ्क्रमितको उपचार भइरहेको जानकारी दिए ।

त्यसैगरी, यहाँको गड्डाचौकी नाकाबाट भारत जान सोमबार बिहानदेखि रोक लगाएको छ । भारतमा कोरोना सङ्क्रमण बढ्दै गएका बेला यहाँको स्थानीय प्रशासनले नेपाली नागरिकलाई भारत जान रोक लगाएको हो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले आइतबार बेलुकीदेखि नै भारत जाने क्रम न्यून रहेको बताए । उनले भारतबाट भने नेपालीहरुलाई गड्डाचौकी नाकाबाट स्वदेश फिर्ता हुन दिइएको बताए ।

“अहिले यो नाकाबाट दैनिक पाँचदेखि सात सयजना स्वदेश फर्किरहेका छन्”, प्रहरी नायब उपरीक्षक गुरुङले भने, “आउनेहरुको नाकामा स्वास्थ्य परीक्षण पनि भइरहेको छ ।” स्थानीय प्रशासनले आंशिक बन्दाबन्दी (लकडाउन) गर्ने विषयमा गृहकार्य गरिरहेको छ ।त्यस्तै, यहाँका स्थानीय तहहरुले पनि कोरोना सङ्क्रमण बढ्न थालेपछि कार्यपालिकाको कामकाज बन्द गरिरहेका छन् ।