भैरहवा । कोरोनाले रूपन्देहीमा पनि महामारीको रूप लिदै छ । जिल्लाको अवस्था दिन दिनै बिग्रिदै गई रहेको छ । स्थानीय प्रशासन यसलाई कसरी नियन्त्रण गर्ने चासोमा लागेका छ । सोही अनुसार रणनिति पनि बनि रहेका छन् । विद्यालयहरू बन्द छन्, जिल्लामा जोर बिजोर प्रणाली देखी लकडाउन सम्मको चर्चा भइरहेको छ । तर सिमामा यसले केही फरक पारेको छैन । सीमाबाट भारत हुँदै आउने नेपालीहरूको पहिचान र परीक्षणमा सीमामा खटिएका स्वास्थ्यकर्मी गम्भिर नहुदाँ सङ्क्रमितहरू त्यतिकै भित्रिने सम्भावना रहेको छ ।
बेलहिया नाकामा अहिले सिद्धार्थनगर नगर पालिकाका काम गर्ने स्वास्थ्यकर्मी सँगै संघले खटाएका पनि छन् । तर उनीहरू आफ्नो काम प्रति जिम्मेवार नभएको सरोकारवालाको चिन्ता छ । पहिले अध्यागमन कार्यालय रहेको भवनमा अहिले २ बेड आइसोलेसन सहितको हेल्थ डेस्क स्थापना गरिएको छ । होल्डिङ्ग सेन्टर, एन्टिजेन परीक्षणको ब्यवस्था गरिएको छ ।
बेलहिया नाका हुँदै औसतमा दैनिक २ सय ५० जना लामो दूरीबाट आउने नेपालीहरु नेपाल प्रवेश गरि रहेका छन् । उनिहरुलाई होल्डिङ एरियामा राखी स्वास्थ्य परिक्षण गरेर मात्र प्रवेश दिने ब्यवस्था रहेको छ । होल्डिङ्ग एरियामा रहेकालाई आवश्यकता अनुसार स्वास्थ्य परिक्षण गर्ने कि पठाउने भन्ने हुन्छ । शंकास्पद लाई मात्र एन्टिजेन परिक्षण हुने गरेको छ ।
सीमामा खटिएका स्वास्थ्यकर्मीहरू भने शनिबार बिदामा बस्ने गरेका छन् । गएको शनिबार एक जना नेपालीको पनि एन्टिजेन परिक्षण भएन । कारण खोज्दै जादा ल्याबमा काम गर्ने कर्मचारी बिदामा बसेको कारण एक जनाको पनि कोभिड परिक्षण हुन सकेन । सबै त्यतिकै नेपाल प्रवेश गरे । अवश्था कति गम्भिर छ भने आज सोमबार बिहान ११ बजे सम्म ३६ जनाको स्वास्थ्य परिक्षण गर्दा ५ जनामा कोभिड पोजिटिभ देखिएको थियो । सीमामा दैनिक पोजिटिभ भेटिने गरेका छन् । यसरी हेर्दा शनिबार कति संक्रमित नेपाल भित्रिए त्यसको आकलन पनि गर्न सकिन्न ।
जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ साहका अनुसार “अहिले स्वास्थ्य कार्यालयले समन्वयकारी भुमिका मात्र खेल्ने हो, स्वास्थ्यकर्मी सम्बन्धित पालिकाले खटाउने हो ।” यस्तै अवस्थामा स्वास्थ्यकर्मीले हामीलाई टेरेकै छैनन आफु खुशी गरि रहेका छन् ।”बेलहिया नाकामा एक जना डाक्टर राख्ने पनि योजना रहेको उनी सुनाउँछन् । “तर आउन भने कोही मान्दैनन्, आउनेले पनि डबल तलबको कुरा गर्छन ।”
सीमामा स्वास्थ्यकर्मीको व्यवस्थापन अहिले सिद्धार्थनगर नगर पालिकाले गरि रहेको छ । डिसीसीएमसीको निर्णय अनुसार सीमामा चिकित्सक सहित अहेब, नर्स, ल्याब र कार्यालय सहयोगीको ब्यवस्था हुनु पर्ने हो । तर शुक्रबार सम्म १ जना ल्याबकाृ कर्मचारी र कार्यालय सहयोगी मात्र थिए । शनिबार भएको कर्मचारी पनि बिदामा बस्दा सीमामा स्वास्थ्यकर्मीको अवस्था प्रष्ट भयो ।
सिद्धार्थनगर नगर पालिकाका स्वास्थ्य संयोजक पिताम्बर पाठकले भने नगरपालिकाले आफ्नो क्षमताले भ्याए सम्म काम गरि रहेको दावी गर्छन । जनशक्तिको अभाव र कोभिडको बढ्दो प्रभावको मारमा नगरपालिका परेको उनले गुनासो गरे । उनले आइतबार देखी सीमामा २ जना ल्याब कर्मचारीको ब्यवस्था गरिएको उनले जानकारी दिए ।
प्रतिक्रिया