ताजा अपडेट »

सरकारले सर्वेक्षण गर्ने, संवृद्ध र सुखी कति ?

आइतबार, ०८ असार २०७६

असार ८,

काठमाण्डौं । केन्द्रीय तथ्यांक विभागले सुख र सम्वृद्धिको सर्वेक्षण गर्ने भएको छ। सरकारले सम्वृद्धि र सुखको सर्वेक्षण गर्ने कार्यक्रम स्वीकृत गरिसकेकाले आगामी आर्थिक वर्षदेखि सर्वेक्षण सुरु गरी २०७६-७७ को अन्त्यसम्म सर्वेक्षणको नतिजा सार्वजनिक गर्ने केन्द्रीय तथ्यांक विभागले बताएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले ‘समृद्व नेपाल, सुखी नेपाली’ को नारा अंगीकार गरेको छ। सर्वेक्षणले नेपाली जनता कति संवृद्ध र सुखी छन् भनेर मापन गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ। राष्ट्रिय योजना आयोगले तयार गरेको संवृद्धि र सुखका सूचकअनुसार सर्वेक्षण प्रश्नावली तयार गरी सर्वेक्षण गरिनेछ । सर्वेक्षणमा सातै प्रदेश र हिमाल, पहाड र तराई तथा प्रदेश २ मा मानव विकास सूचकांकमा पछाडि परेका जिल्लामा नमुना संकलन गरिने बताइएको छ।

राष्ट्रिय योजना आयोगले उच्च र समतामूलक राष्ट्रिय आय, मानव पूँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग, सर्वसुलभ र आधुनिक पूर्वाधार तथा सघन आवद्धता, उच्च र दीगो उत्पादन तथा उत्पादकत्व जस्ता समृद्विका सूचक तय गरेको छ । त्यस्तै, सुखका ६ सूचकमा परिस्कृत तथा मर्यादित जीवन, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ र सन्तुलित पर्यावरणीय पद्धति, सुशासन, सबल लोकतन्त्र, राष्ट्रिय एकता र सम्मान समावेश गरिएको छ ।