असार ७,
ग्लोबल आवाज
बुटवल । रुपन्देही उद्योग संघले इलाका प्रहरी कार्यालय, बुटवलमा सरुवा भई आएका डिएसपी भिमलाल भट्टराई र घरेलु तथा साना उद्योग कार्यालय, रुपन्देहीका प्रमुख उद्योग अधिकृत नारायण आर्चायलाई शनिवार एक कार्यक्रमकाबीच स्वागत तथा सम्मान गरेको छ ।
संघको कार्यसमितिको नियमित बैठकका अवसरमा अध्यक्ष गणेश प्रसाद अधिकारीले खादा ओढाएर स्वागत तथा सम्मान गरेका हुन् । स्वागत गर्दै अध्यक्ष अधिकारीले रुपन्देहीको औद्योगीक विकासमा दुबै कार्यालय र कार्यालय प्रमुखबाट सकारात्मक भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे । ‘उद्योग र उद्योगीहरुका समस्याहरुलाई सम्बोधन गर्ने काममा आफ्नै समस्या सम्झने वातावरण बन्ने विश्वास छ ।’– उनले भने । व्यक्त गर्दै पछिसम्म स्मरण हुने कार्य गर्न सुझाव समेत दिए ।
संघका निर्वतमान अध्यक्ष दिनेशराज रेग्मीले उद्योगीहरुका समस्याहरुलाई प्राथमिकतामा राख्दै यस क्षेत्रको शान्ति सुरक्षा कायम गर्न एक आपसमा मिलेर अगाडी बढ्न आग्रह गरे । संघका पूर्व अध्यक्ष बोनिन पियाले आम नागरिकहरुलाई शान्तिको अनुभूति हुने तथा उद्योगीका समस्या समाधानमा कुनै पूर्वाग्रह नराखेर कानुनको पालना गराउने जिम्मेवारीलाई हार्दिकताका साथ पुरा गर्ने कुरामा विश्वास व्यक्त गरेका थिए ।
स्वागत तथा सम्मान ग्रहण गर्दै इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी भिललाल भट्टराईले ऐन कानुनले दिएको अधिकारलाई प्रयोग गरि शान्ति सुव्यवस्था कायम गराउन निष्पक्ष रुपमा आफु र आफ्नो टिमले काम गर्ने बताए । उनले आर्थिक उन्नती र संमृद्धिमा टेवा पुग्ने काममा सहकार्यका लागि आग्रह गरे ।
घरेलु तथा साना उद्योग कार्यालय, रुपन्देहीका प्रमुख नारायण आर्चायले उद्योग व्यवसायमा रहेका कठिनाईलाई हटाउन तथा औद्योगिक बातावरण निमार्ण गर्न उद्योगीहरुले दिने सुझाव र सल्लाहालाई सधै आफुले सकारात्मक रुपमा लिने बताउँदै कर्मचारीहरुको अभाव एवम् अधिकारको बाँडफाँडमा रहेको अन्यौलका कारण चाहेनुसार काम गर्न कठिनाई भएको गुनासो गरे । संघका अध्यक्ष गणेश प्रसाद अधिकारीको अध्यक्षता, महासचिव कृष्ण प्रसाद पराजुलीको सञ्चालनमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बाबुराम बोहोराले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया