ताजा अपडेट »

कोरोना ब्यवस्थापनमा कसिलो बन्दै रुपन्देही‚जोर बिजोर प्रणाली लागू

आइतबार, १२ बैशाख २०७८

भैरहवा । रुपन्देहीमा पनि कोभिड संक्रमितको संख्या बढ्दै गए पछि रुपन्देही प्रशासनले भिड नियन्त्रण गर्ने प्रयास थालेको छ । यस अघि नै बसेको डिसीसीएमसीको बैठकले भैरहवा र बुटवल लगायतका बिद्यालय बन्द गर्ने निर्णय गरि सकेको थियो । अहिले भने रुपन्देहीका सम्पूर्ण शैक्षिक संस्थाहरु बैशाख मसान्त सम्म बन्द गर्ने निर्णय गरेको छ ।

आईतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्मा बसेको सुरक्षा पदाधिकारी तथा स्थानिय तहका प्रमुख‚ अध्यक्ष एवम प्रतिनिधिहरुको बैठकले सबै स्थानिय तहका सबै शिक्षण संस्था बन्द गरेको निर्णय गरेको छ । शैक्षिक संस्थाहरुले प्रत्यक्ष भौतिक उपस्थितिमा गरिने शिक्षण सिकाईको सट्टा बैकल्पिक माध्यमबाट शिक्षण सिकाईको ब्यवस्था गर्न भनेको छ । यसको साथै सबै किसिमका पूर्व निर्धारित परिक्षाहरु समेत हाललाई स्थगन गर्न बैठकले निर्णय गरेको छ ।

यसको साथै बैठकले रुपन्देहीका सार्वजनिक तथा निजि यातायातका साधनहरु जोर बिजोर प्रणालीको आधारमा सञ्चालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले बताए । अर्थात जोर गतेका दिन जोर नम्बर प्लेट भएका यातायातका साधन र बिजोर गते बिजोर नम्बर भएका यातायातका साधनहरु सञ्चालन हुने ब्यवस्था मिलाउन समन्वय बैठकले निर्णय गरेको छ ।

बैठकमा सबै स्थानिय तहका अध्यक्ष‚ प्रमुख एवम प्रतिनिधिहरुले कोरोना सम्बन्धि जनचेतनामूलक कार्यक्रम वडा र टोल स्तरमा गर्ने प्रतिवद्धता जनाएका छन् । यस्तै बैठकले प्रत्येक पालिकामा कम्तिमा १ वटा एम्बुलेन्स तैयारी अवश्थामा राख्न समेत निर्देशन गरेको छ । अहिले रहेका सामुदायिक आईसोलेसन र होम क्वारेन्टाईनहरुको क्षमता विकास गरि पूर्व तयारी अवश्थामा रहन समेत बैठकले आग्रह गरेको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ग‚ रुपन्देही प्रहरी प्रमुख‚ शसस्त्र प्रहरी प्रमुख‚ राष्ट्रिय अनुसन्धान आयोगका रुपन्देही प्रमुखको साथै जिल्लाका १६ वर्ट स्थानिय तहका अध्यक्ष‚ प्रमुख एवम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।