ताजा अपडेट »

सय बेड पुर्याउने तयारीमा बुटवलको सिद्धबाबा हस्पिटल

आइतबार, १२ बैशाख २०७८

बुटवल । बुटवलमा सञ्चालित सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले सेवा विस्तार तथा स्तरोन्नतीको तयारीमा लागेको छ । स्थापनाको चौथै वर्ष प्रवेशका अवसरमा हस्पिटलले सेवा विस्तारका लागि कार्योजना बनाई अगाडी बढीरहेको जानकारी गराएको छ ।

यस क्षेत्रका युवा विशेषज्ञ चिकित्सकहरुको लगानी स्थापना भएको अस्पताललाई सय शैयामा विस्तार गर्ने लक्ष्य रहेको अस्पतालका अध्यक्ष तथा मृगौलारोग विशेषज्ञ डा. शक्ति बस्नेतले जानकारी गराए । कोरोना महामारीका कारण सामान्य कार्यक्रमगरी स्थापना दिवस मनाएको अस्पतालले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना सेवाहरु बारे जानकारी गराएको छ ।

अस्पतालबाट मृगौला, दम तथा छाती, महिला तथा स्त्री रोग, दन्त, न्युरोसर्जरी, नाककानघाँटी, छालारोग, युरोलोजी मुत्ररोग, पेट तथा कलेजो, लगायतको विशेषज्ञ सेवा दिदै आएको अस्पतालले जनाएको छ । डेढवर्षको अवधिमा सेवाहरु थप गरेको अध्यक्ष बस्नेतले बताए । अस्पतालमा नियमित ५ वटा हेमोडाईलोसिसन मेशिनबाट सेवा प्रदान भइरहेको र ९ वेडको आईसियु सेवा रहेको अस्पतालका निर्देशक दिपेश प्रधानले जानकारी गराए । मुटुको ईको, अल्टर, फोक्सो तथा नशा सम्बन्धि जाचहरु हुने उनले बताए । स्थापनाको ३ वर्षको समयमा ४१ हजार २ सय ७७ जना विरामीहरुले ओपिडि सेवा लिएको जानकारी गराए ।

ईमेरजेन्सिबाट ३ हजार ७ सय ९० जनाले सेवा लिएको छन् भने अस्पतालले २ सय ६० वटा सर्जरी, ३८ वटा गाईनो, ३१ अर्थो, १२ न्युरोका मेजर सर्जरी तथा ४ सय ३५ सर्जरी गरेको छ । यसैगरी ४३ गाईनो, ३० अर्थो, ४ वटा न्युरोका माईनर सर्जरी गरिएको प्रधानले बताए । यसअघि चितवन, काठमाडौं जानुपर्ने विरामीहरुको बाध्यता कम गर्न सफल भएको उनले दाबी गरे। रुपन्देही, रोल्पा, पाल्पा, बागलुङ, नवलपरासी, दाङ, प्युठान, गुल्मी, अर्घाखाँचीबाट समेत विरामीहरुले सेवा लिएको निर्देशक प्रधानले बताए ।

कोभिड-१९ को पहिलो लहरमा विशेषज्ञ सेवा दिएको अस्पतालले दोस्रो लहरमा पनि सेवा दिने तयारी रहेको जनाएको छ । अस्पतालले २४ घण्टा आईसियु, सिसियु, ईमेरजेन्सी सेवा, डाईलोसिस तथा अत्याधुनिक उपकरणहरुबाट ल्याब, प्याथोलोजी, फार्मेसी सेवा दिदै आएको छ । सेवासंगै विकट क्षेत्रहरुमा निशुल्क स्वस्थ्य सेवा र जनचेतना कार्यक्रम समेत गरेको उनले बताए ।

युवा चिकित्सकहरु र परिवारबाट १० करोड लगानीमा शुरु गरिएको अस्पताललाई स्तरिकरण गरि एक सय बेडमा लैजान ५० करोड आवश्यक हुने र त्यसको तयारी रहेको उनले निर्देशक प्रधानले बताए । कार्यक्रममा डा यमनचन्द्र प्रधान, अस्पतालका ब्यवस्थापक प्रकाश न्यौपानेले चिकित्सकहरुको समुहबाट पेशाभन्दा माथि रहेर मानविय सेवामा योगदान दिएको बताए । अस्पतालमा ९५ जना चिकित्सक र कमर्चारीबाट सेवा प्रदान हुँदै आएको छ ।