ताजा अपडेट »

शुन्य औलोको लक्ष्यमा पुग्दैछौं

आइतबार, १२ बैशाख २०७८

भैरहवा । केही समय अघिसम्म तराई क्षेत्रमा महामारीको रुपमा देखिएको औलो नेपालबाट निर्मूल हुने अवश्था आएको छ । राणा कालमा सजाय दिनु परे तराईको जङ्गलमा पठाउने गरिन्थ्यो, कारण औलोको प्रकोप थियो । औलोको टोकाईले मान्छे मर्ने गरेको कारण तत्कालीन समयमा सजाय स्वरुप तराईमा पठाउने प्रचलन थियो । तर अहिले अवश्था फेरिएको छ । तराईबाट मात्र नभई नेपालबाट नै औलो उन्मुलनको नजिक पुगेको छ ।

नेपाललाई सन २०२५ सम्ममा औलो मुक्त बनाउने रणनितिक अभियानका साथ सरकार अगाडी बढेको छ । यसलाई अभियानको रुपमै सञ्चालन गर्न थालिए पछि प्रत्येक बर्ष औलोको प्रकोप घट्दो रहेको स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकले देखाएको छ । नेपालमा मूख्तया २ प्रकारले औलो बढ्ने गरेको छ । एउटा यतैका संक्रमित पोथी जातको लामखुट्टेको टोकाईबाट हुने औलो जसलाई प्राविधिक भाषामा ईन्डिजिनियस भनिन्छ भने अर्को भारत लगायतका मुलुकबाट आउने आगन्तुकले उतैबाट संक्रमित भई ल्याएको औलो हो । यी दुई औलोमा ईन्डिजिनियस निकै कम रहे पनि सिमापारीबाट लिएर आउने औलोको संख्या उल्लेख्य रहेको छ ।

नेपालमा आर्थिक बर्ष २०७६/०७७ मा ६ सय १९ वटा औलोेको केसहरु मध्ये १ सय २ वटा आन्तरिक रुपमा फैलिएको ईन्डिजिनियस औलो थियो भने ५ सय १७ वटा आयतित रहेको जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर केदारनाथ साहले जानकारी दिए । यस्तै लुम्बिनी प्रदेशमा सोही आर्थिक बर्षमा १ सय ४३ वटा केसहरु मध्ये १ सय २७ वटा आयतित रहेको थिया भने १६ वटा मात्र ईन्डिजिनियस औलो रहेको उनको भनाई छ । रुपन्देही जिल्लामा भने चालु आर्थिक बर्षमा ५ जना औलोको संक्रमित भेटिएका छन् । ४ जना बुटवल उपमहानगर पालिकामा र १ जना तिलोत्तमा नगरपालिकामा भेटिएका संक्रमितहरु सबै बाहिरबाट नै औलोको संक्रमण लिएर आएको साहले बताए ।
खुल्ला सीमा, बेरोकटोक आवात जावत तथा परिक्षणको उचित प्रवन्ध नहुदा आयतित बिरामीहरुको संख्या बढ्दो रहेको साहको भनाई छ । भारतका बिभिन्न स्थानमा काम गर्ने कामदार, बिभिन्न पर्वहरु मनाउन नेपाल फर्किने नेपाली तथा नेपाल आउने अन्य ब्यक्तिहरुले आफु संगै औलोको परजिवि संगै लिएर आउने गरेको साहको भनाई छ ।

अहिले आयतित औलो रोक्नलाई सिमामा कोभिड संगै औलोको पनि आरडिटि माध्यबाट चेकजाँच गरिदैछ । यसले केही हद सम्म जोखिम घटाएको उनको भनाई छ । बिशेष गरि १ महिना सम्म कहि कतै नगई नेपालमै बसेको औलोको बिरामीलाई स्थानिय बिरामीको रुपमा लिएको साहले जानकारी दिए । आयतित बिरामीको संख्या बढ्दो रहे पनि रुपन्देहीमा भने औलो रोग घट्दो रहेको छ । औलो रोग संक्रमित एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाई बाट सर्ने हँुदा लामखुट्टेको टोकाईबाट बच्नु तथा शंका लाग्न साथ चेकजाँच गरि यसलाई फैलिनबाट रोक्नु औलो रोकथामको सर्वोत्तम उपाय रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरीले बताए ।

यस रोगबाट विशेष गरी गर्भवति महिला तथा पाँच बर्ष मुनिका बालबालिका बढी जोखिममा हुन्छन् । संसारमा पाइने औलो परजीविहरु मध्ये नेपालमा दुई परजीविहरू प्लाज्मोडियम फाल्सिपारम र प्लाज्मोडियम भाइभेक्स जातको मात्र पाइने गरेको छ । यी दुई मध्ये प्लाज्मोडियम फाल्सिपारम गराउने औलो रोग बढि जटिल र जोखिमयुक्त हुन्छ । यो जम्मा औलो बिरामीको १० प्रतिशत रहेको छ । यसको रोकथामको लागी नेपाल सरकार मातहतमा रहेका स्वास्थ्य संस्थाहरु मार्फत औलोको निःशुल्क परिक्षण तथा उपचार भइरहेको गिरीले जानकारी दिए । \यसै गरि देशभरीबाट स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली बाट नियमित रुपमा सूचना संकलन, सुपरभिजन तथा अनुगमन, भेक्टर सर्भिलेन्स भएको उनले बताए । यसका साथै मोबाइल मार्फत प्रत्येक औलो बिरामीको औलो रोग सूचना प्रणालीमा जानकारी प्राप्त भइरहेको छ ।