ताजा अपडेट »

बेलहिया नाकाबाट दैनिक सरदर अढाई सय नेपाल प्रवेश

विहीबार, ०९ बैशाख २०७८

भैरहवा । भारतको बिभिन्न स्थानमा नँया भेरिएन्टको कोभिडको महामारी बढ्दै जाँदा सीमामा नेपाल आउनेहरुको लर्को लाग्ने गरेको छ । भारतको दिल्ली, मुम्बई, दक्षिण भारत मात्र हैन उत्तर प्रदेशकै कतिपय स्थानमा अहिले कोभिडको संक्रमण तिव्र रुपमा फैलिरहेको छ । भारतमा कोभिड संक्रमण फैलिदै जाँदा नेपालीहरु नेपाल फर्किने गरेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलहियाले उपलब्ध गराएको तथ्यांक अनुसार लामो दुरीबाट दैनिक सरदर २ सय ५० जना नेपाल फिर्ता भई रहेका छन् । बैशाख महिनाको ८ गते सम्म बेलहिया नाका हुदै ९ सय ५५ जना महिला र २ हजार २ सय ६४ जना पुरुष गरि ३ हजार २ सय १९ जना नेपालीहरु नेपाल प्रवेश गरेका छन् । यी भारतको लामो दुरीबाट आउने नेपालीहरुको मात्र तथ्यांक हो । यस बाहेक नेपालबाट नै बिभिन्न प्रयोजनको लागी भारतको नजिकको बजारमा जानेहरुको तथ्यांक राख्ने गरिएको छैन । भारतको नजिकको बजारमा गई किनमेल गरि फर्किनेहरु सहज रुपमा नेपाल प्रवेश पाउने गरेका छन् । भारतबाट आउने नेपाली तथा अन्य यात्रुलाई सहज प्रवेश दिईएपछि रुपन्देहीमा कोभिडको अवश्था झन भन्दा झन जटील हुदै गएको छ ।

रुपन्देही प्रशासनले सीमामा सर्तकता अपनाएको दावी गरि रहदा रुपन्देहीमा कोभिड संक्रमितको संख्या बढ्दो रहेको छ । सोमबार मात्र भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा ६ जना संक्रमितको मृत्यु भएको थियो । मृतक मध्ये ३ जना रुपन्देहीका र ३ जना अन्य जिल्लाका रहेका थिए । रुपन्देहीमा बैशाख ८ गते सम्म १ सय ६३ जनाको मृत्यु भई सकेको छ । लामो दुरीबाट आउने नेपालीहरुको हकमा भने थोरै भए पनि सावधानी अपनाईएको छ । अहिले सीमामै अस्थायी होल्डिङ्ग सेन्टर बनाईएको छ भने यस अघि अध्यागमन कार्यालय रहेको भवनलाई चेकजाँच केन्द्र बनाईएको छ । टाढाबाट आउने नेपालीहरुलाई होल्डिङ्ग सेन्टरमा राखी उनिहरुको तापमान लिएर शंकास्पद देखिए एन्टिजेन परिक्षण गर्ने गरिएको छ । अहिले सम्म शंकास्पद १ सय १६ जनाको एन्टिजेन परिक्षणबाट ८ जनामा संक्रमण पुष्टि भई सकेको छ ।

खतरा सीमापारीबाट आउनेबाट मात्र हैन सीमा भित्र पनि मानिसको आवात जावत अनियन्त्रित हुदा रुपन्देहीमा संक्रमण फैलिदै गई रहेको छ । स्वास्थ्य कार्यालय भैरहवाका प्रमुख डाक्टर राजेन्द्र गिरीले रुपन्देहीका सक्रिय संक्रमितको संख्या बिगत एक साता देखी बढदै गएको बताएका छन् । नेपाल भित्रिने प्रत्येक यात्रुहरुको ज्वरो मापन गर्ने र शंका लागेकालाई एन्टिजेन परिक्षणको ब्यवस्था समेत सीमामै मिलाईएको छ । एन्टिजेनबाट रिपोर्ट पोजिटिभ देखिए त्यसको ब्यवस्थापन कोभिड बिशेष अस्पतालमा गर्ने ब्यवस्था रहेको डिसीसीएमसीको भनाई छ । यता जिल्ला स्तरिय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) का संयोजक समेत रहेका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले कोभिडबाट जोगिन रुपन्देहीले ३ वटा रणनिति तयार पारेको बताए ।

पहिलो टेष्ट, दोश्रो कन्टेन्ट र तेश्रो ट्रिट ३ वटा मूख्य रणनिति अनुसार सीमा नाका ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणाली सुदृढिकरण गरि २ वटा कार्यनिति रहेको उनले बताए । सीमामा मै हेल्थ डेस्क राखि शंकास्पदको स्वाब लिने र उनिहरुको एन्टिजेन प्रविधिबाट चेकजाँच हुदै नेपाल भित्र्याउने ब्यवस्था रहेको छ । मूख्य चुनौती भनेकै सीमा ब्यवस्थापन रहेको उनले बताए । यसले गर्दा बेलहिया बाहेक अन्यबाट हुने आवागमन रोकिएको उनले दावी गरे । यसका साथै बेलहियामा १ सय जना रोक्न मिल्ने टेन्टको होल्डिङ्ग सेन्टर राखिएको छ । टाढाबाट आउने नेपालीलाई त्यहा आराम गर्न दिने र तापमान लिए पछि शंकास्पदलाई एन्टिजेन परिक्षण गर्ने गरिएको तामाङ्गले बताए । उनले अहिले सीमामै २ बेडको आईसोलेसन सेन्टर तयार भएको बताए ।

लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून र स्वास्थ्य तथा जनसंख्या मन्त्री लिला गिरीले बिहिबार सीमामा गरिएको ब्यवस्थाको अनुगमन गरेका छन् । अनुगमन पछि ग्लोबल आवाज डट कम संग संक्षिप्त कुरा गर्दै मन्त्री गिरीले कोभिडको नँया भेरिएन्ट दुर्भाग्यवश फैलिएर समस्या श्रृजना गरेको बताए । उनले प्रदेश सरकारले प्रत्येक नाकामा भारतबाट आउने आगन्तुकलाई राम्ररी जाँचेर मात्र भित्र लिने गरेको बताए ।