ताजा अपडेट »

पृथ्वी दिवसको अवसरमा वातावरण संरक्षणको सचेतानासहित साइकल र्याली

विहीबार, ०९ बैशाख २०७८

बुटवल । विश्व पृथ्वी दिवसको अवसर पारि बुुटवलमा विहिबार साइकल र्यालि गरिएको छ । राष्ट्रिय कार्यमा युथ समिति (युथ क्यान) रुपन्देहीको आयोजनामा जितगढी किल्लाबाट साईकल र्याली गरिएको हो । ‘हाम्रो पृथ्वी पुनःस्थापित गरौं’-भन्ने नारासहित यसवर्ष विश्वभर नै विविध कार्यक्रम गरि मनाइंदै छ ।

र्यालिको लुम्बिनी प्रदेश ट्राफिक कार्यालयका प्रहरी नायव उपरिक्षक डम्वरबहादुर बिकले उद्घाटन गर्दै स्वास्थ्य र सचेतनाका लागि साइक्लिङको महत्व रहेको बताए । र्यालि बुटवल उपमहानगरपालिकाको महेन्द्र पार्क, राजमार्ग चौराहाहुँदै तिलोत्तमा नगरपालिका कार्यालय परिसरमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा जिल्ला साइक्लिङ संघ, बुटवल युनाइटेड साइक्लिङ क्लब, तिनाउ साइक्लिङ क्लब, बुटवल साइक्लिङ ग्रुप, ह्याप्पि साइक्लिङका साइक्लिष्टहरु सहभागी रहेका थिए ।

समापन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले दिगो विकास र वातावरण जोगाउने विषयमा युवाहरुको अगुवाई जरुरी हुने बइन् । कार्यक्रममा वातावरण संरक्षक युवराज कंडेलले युवाहरु सचेतना जगाउन अग्रपंक्तिमा आउनुपर्ने बताए । प्रकृति जगाउने, दिगो विकासमा युवा पुस्ताहरु सचेत बन्न सकेमात्र पृथ्वी जोगिने उनको भनाई थियो । देशमै वन्यजन्तु सम्बन्धिको मुद्दामा ९२ प्रतिशत ४० वर्षभन्दा कम उमेरका युवा पक्रने तथ्याङ्कबाट पुष्टि भएको भन्दै युवाहरुलाई सहि मार्गमा ल्याउने गरि योजना बनाउन सुझाव दिए । वातावरण संरक्षणसंगै युवा पुस्तालाई आयआर्जनमा जोड्नुपर्ने उनले बताए । केही स्थानीय सरकारहरु केवल बकेट राखेर प्लास्टिक मुक्त नगर घोषणा सफल नहुने भन्दै नागरिकलाई सचेत बनाउन जरुरी रहेको बताए ।

तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले ‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ नारासहित वार्षिक नीति तथा कार्यक्रम बनाएर अघि बढेको दाबी गरे । प्रत्येक वर्ष ५० हजार बिरुवा लगाउने अभियान नै चलाउंदै आएको उनले बताए । १ लाख २५ हजार जनसंख्या रहेको नगरका बासिन्दाहरुबाट जन्मदिनमा बिरुवा रोप्ने कार्यक्रम नै चलाएको उल्लेख गरे । कार्यक्रममा राष्ट्रिय कार्यमा युथ समिति (युथ क्यान) का अध्यक्ष रामु पाण्डे, युथ क्यानका जिल्ला अध्यक्ष कमल न्यौपाने, रुपन्देही जिल्ला साइक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, युथ क्यानको सचिव गणेश पन्त, रोटरी क्लब अफ सेन्ट्रल बुटवलका सुरज खरेल, दारी ग्याङका विरेन्द्र जिसिले सबै मिलेर सचेतनामा अगाडि बढाउनुपर्ने बताए ।