असार ५,
डि.बि. सुस्लिङ/ग्लोबल आवाज
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरको ५औं नगर सभामा बिहिबार मेयर चित्रबहादुर कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । ‘कृषि, पर्यटन, उद्योग र पूर्वाधार, सुसंस्कृत, समृद्ध नगर सैनामैनाको आधार’–भन्ने नारासहितको ६८ बुँदे नीति तथा कार्यक्रममा पूर्वाधार विकासलाई विशेष प्राथमिकताका साथ उल्लेख गरिएको छ ।
आधा दर्जन बढी नारा तथा अभियान उल्लेख गरिएको नीति तथा कार्यक्रममा केन्द्र तथा प्रदेश सरकारकै सिको गरेको देखिन्छ । “सफा घर, टोल र शहर सैनामैनाबासीको एउटै रहर”, ‘प्रविधिमा आधारित गुणस्तरीय वालमैत्री शिक्षा, हामी सबैको इच्छा’,“सामाजिक न्याय र समताका लागि सकरात्मक विभेद”, “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद”, “नगरको समृद्धिको आधार, फराकिलो र व्यवस्थित सडक पूर्वाधार” र “विपद् न्यूनिकरणको लागि पूर्व तयारीमा जुटौंँ” नीति तथा कार्यक्रममा उल्लेख गरिएका प्रमुख नारा एवम् अभियानहरु हुन् ।
नीति तथा कार्यक्रममा सडक तथा पूर्वाधार
“नगरको समृद्धिको आधार, फराकिलो र व्यवस्थित सडक पूर्वाधार”–भन्ने नाराका साथ सडक विस्तार तथा स्तरोन्नतिको कामलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा नगर भित्रका कालोपत्रे सडकमा गुणस्तर कायम गर्न ३० फिट वा सो भन्दा बढी चौडाई भएका सडकहरुमा असफाल्ट प्रविधि अपनाउने, वडा नं. १० मा निर्माणाधिन रहेको सालझण्डी ढोरपाटन बसपार्कको स्तरोन्नती गरी सञ्चालनमा ल्याउने, पूर्व–पश्चिम लोकमार्गको बुटवल–कोठीपुलसम्मको खण्डलाई छ लेनको सडकमा विस्तार गर्न विस्तृत सर्भे डिजाइन अगाडि बढाउन नेपाल सरकारस“ग समन्वय गरिने, सैनामैना चक्रपथलाई कालोपत्रे गर्नुका साथै बाँकी खण्डको स्तरोन्नति आगामि आर्थिक वर्ष भित्र सम्पन्न गर्न पहल गरिने उल्लेख छ ।
मुर्गिया–लुम्बिनी सडकलाई सम्पन्न गर्न सम्बन्धित निकायमा पहल गर्ने, दानव नदीको कर्साघाटमा निर्माणधिन पुल, दक्षिणबरौली र जर्लैया जोड्ने कन्चन नदीको पुल, सैनामैना र पाल्पा जोड्ने इंगुरिया पुल जस्ता योजना तीब्र गतिमा निर्माण गर्नुका साथै चुरे पहाड र सोसँग जोडिएका वस्तीहरु छुट्टिने गरी वडा नं. १ सैनामैना क्षेत्र वडा नं. २,३,५,६,९ हुँदै वडा नं. १० को खोरमोर खोलासम्म ३० फुटको सडक निर्माणको लागि डि.पि.आर. तयार गरी कार्य अगाडि बढाउन विश्व बैंकसँग पहल गर्ने उल्लेख गरिएको छ।
कृषि विकासका लागि कुनै ठोस कार्यक्रम नदेखिएको नीति तथा कार्यक्रममा “उत्पादन गरौ,आत्मनिर्भर बनौ ” भन्ने नाराका साथ कृषिलाई सहकारीसँग समानान्तर रुपमा जोड दिइएको छ । एकीकृत वैज्ञानिक कृषि प्रणाली लागू गर्दै करार, सहकारी तथा सामुहिक खेतिलाई जोड दिइएको छ। कृषि तथा पशुपालनमा युवा कृषकहरुलाई प्रोत्साहन गर्न निर्वाहमुखि कृषि प्रणालीलाई क्रमशः विस्थापित गरेर व्यवसायिक कृषि प्रणालीको विकास तर्फ आकर्षित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । नगर भित्रका सहकारीहरुलाई मापदण्ड पुर्याइ एकिकरणको प्रक्रियालाई प्राथमिकतामा राखिएको छ ।
नीति तथा कार्यक्रममा दुधराक्ष स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालनमा ल्याउनुका साथै लुम्बिनी रण अम्बिका आँखा अस्पताल र नगरपालिकाको संयुक्त लगानीमा प्राथमिक आँखा उपचार केन्द्र निर्माण गरिने उल्लेख गरिएको छ । नगरपालिका, नेपाली सेना र स्थानीय समुदायसँगको सहकार्यमा सर्पदंश अस्पताल निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने र संघीय सरकार र गरपालिकाको लगानीमा नगरका ७ स्थानमा स्वास्थ्य केन्द्रका भवन निर्माण सम्पन्न गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगररमा सुरक्षाका लागि सि.सि. टि.भि. जडान, अन्तर स्थानीय तह विपद् व्यवस्थापन केन्द्रको निर्माण, सीप विकास प्रतिष्ठानको स्थापना गर्न पहल गरिने, नगर सभाहल निर्माण,नमूना बस्ती विकास, नगरक्षेत्र भित्र स्विमिङ पुल सहितको आधुनिक वाटर फन पार्क निर्माणको लागि सम्भाव्यता अध्ययन लगाएत नीति तथा कार्यक्रममा परेका छन् ।
प्रतिक्रिया