ताजा अपडेट »

भोलिदेखि मनसुन सुरु : फैलिन ७ देखि १० दिन

बुधबार, ०४ असार २०७६

असार ४, काठमाण्डौं । सामान्य अवस्थाभन्दा १० दिन ढिला गरेर ५ असारबाट नेपाली आकाशमा मनसुन भित्रिने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । विभागका अनुसार भोलि अपराह्नदेखि पूर्वी नेपालको आकाशमा ठूलो मात्रामा पानीको बाफ बोकेको हावा भित्रिने छ र यसले भारी वर्षा गराउन शुरु गर्नेछ ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा नेपाली सीमा नजिकै आइपुगेको मौसमविद्हरुले बताएका छन् । पूर्वी नेपालमा भोलिबाटै मनसुन सक्रिय हुने भए पनि मुलुकभर यो प्रणाली फैलिन अझै ७ देखि १० दिन लाग्ने देखिएको छ । पहिलो चरणमा आएको मनसुनी हावाले पश्चिम नेपालसम्म पानी पार्न नसक्ने आकलन विभागको छ । यसका लागि पश्चिमको अरब सागरबाट उठेको हावा पनि नेपाली आकाशमा आइपुग्नुपर्ने हुन्छ ।

पश्चिम नेपालको भूगोल बंगलाको खाडी र अरब सागरका दुई तटको बीचतिर पर्ने भएकाले सामान्यतया पश्चिम नेपालमा कम वर्षात् हुने गरेको छ । नेपाली सीमाबाट बंगालको खाडी नजिकै पर्ने भएकाले पूर्वबाट नै मनसुन शुरु हुन्छ र पूर्वबाट नै अन्त्य । गण्डकी पश्चिममा मनसुन शुरु हुन केही ढिला हुने भए पनि यो वर्ष पूर्वी भागमा भन्दा पश्चिम नेपालमा बढी पानी पर्ने देखिएको छ ।